Main News

मेलम्चीको मुहानमा यसरी भीषण पहिरो जाँदै, बस्ती सार्न अध्यक्ष शेर्पाको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १५:३८
मेलम्चीको मुहानमा यसरी भीषण पहिरो जाँदै, बस्ती सार्न अध्यक्ष शेर्पाको माग (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा फेरि बाढीले क्षति गरेको छ । गएरातीदेखि आएको लेदोसहितको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घरटहरा बगाएको छ ।

बाढीले ९ वटा पक्की र ८ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो । ती घरटहरा खाली भएकाले मानवीय क्षति भएको छैन । बाढीले चनौटेको रातो पुल पनि बगाएको छ ।

मेलम्चीका र पाँचपोखरीका दुई तथा हेलम्बुका धेरै क्षेत्र जोड्ने यो पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । त्यस्तै, ग्यालथुममा रहेको झोलुंगे पुल पनि बाढीले बगाएको छ । तालामाराङ प्रहरी चौकीमा बाढी पसेपछि प्रहरीलाई नजिकैको अर्को भवनमा सारिएको छ ।

रातिको बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । असार १ गतेको बाढीले रेडियो मेलम्चीको भवन आधा भन्दा बढी पुरेको थियो। मेलम्ची बजारदेखिमाथि पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।

मानिसहरु बगर बनेको आफ्नो बस्तीबाट माटो हटाइरहेका बेला फेरि बाढी आएको हो। यसअघिको बाढीका कारण तटीय क्षेत्रमा मानिस बस्न भने छाडेका थिए । हेलम्बु गाउँपालिकाको नाकोटे क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको हो ।

अघिल्लो बाढी पनि त्यहीबाट शुरु भएको थियो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची बजारसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभएको छ । पानीको वहाव अहिले केही कम भएको छ ।

यसैबीच सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले मेलम्ची खोला वरपरका बस्ती सार्न माग गर्नुभएको छ ।

शनिबार राति मेलम्चीमा गएको बाढी र पहिरोको उद्गमस्थलको हेलिकप्टरबाट अनुगमन गरेपछि अध्यक्ष शेर्पालगायतले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर बस्ती सार्न सुझाव दिनुभएको हो । मेलम्ची खोला वरपरका बस्ती सार्नुको विकल्प नभएको शेर्पाले बताउनुभएको छ ।

अध्यक्ष शेर्पाका अनुसार पहिरोको जोखिम घटने स्थिति छैन र भीमथाङबाट लेदो बगिरेहेको छ । त्यसैले बस्ती सार्नुको विकल्प छैन । वैकल्पिक बसोबासका लागि आफूले प्रयास गरिरहेको भन्दै अध्यक्ष शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बस्तुस्थिति जानकारी गराउने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *