Main News

धितोपत्र बोर्डमा देखिएको शेयर खरिद विवादमा अख्तियारद्वारा अनुसन्धान शुरु

हिमालय टिभी
२०७८ साउन १७ गते १५:०४
धितोपत्र बोर्डमा देखिएको शेयर खरिद विवादमा अख्तियारद्वारा अनुसन्धान शुरु

१७ साउन २०७८ काठमाडौं । नेपाल धितोपत्र बोर्डमा देखिएको शेयर खरिद विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान शुरु गरेको छ ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङको अनुमति दिएवापत सर्वोत्तम सिमेन्टको शेयर घुस लिएको आरोप लागेपछि अख्तियारले यस विषयमा अनुसन्धान शुरु गरेको हो ।

नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानाकी छोरी रेविकाको नाममा भेटिएको छ ।

बोर्ड अध्यक्षले त्यो शेयर छोरीले नै किनेको बताउँदै आउनु भएको छ । तर नियम अनुसार बोर्डका कुनै पनि कर्मचारीका परिवारले समेत शेयर कारोवार गर्न पाउँदैनन् । अख्तियारले बोर्ड अध्यक्षसँग बुक बिल्डङमार्फत सर्वसाधारणका लागि सेयर जारी गर्न दिएको स्वीकृतिसम्बन्धी सबै कागजात पनि बोर्डसँग मागेको छ ।

सर्वोत्तम शेयर विवादमा बोर्ड अध्यक्ष ढुंगानासँगै नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसमेत जोडिनुभएको छ । साउदकी श्रीमतीको नाममा पनि सर्वोत्तम सिमेन्टको शेयर भेटिएको छ ।

सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ्ग विधिबाट शेयर बेच्न अनुमति दिएवापत ढुंगाना र साउदले कम्पनीसँग शेयर घुस लिएको भन्दै अख्तियारमा केही लगानीकर्ताहरुले लिखित उजुरी समेत हालेका छन् ।

अर्थमन्त्रालयले बोर्ड र नेप्से दुबै कार्यालयलाई पत्राचार गर्दै सञ्चार माध्यममा आएका समाचारका विषयमा स्पष्टीकरण सोधेको थियो । बोर्ड अध्यक्षको नाम जोडिए पनि मन्त्रालयले कार्यालयको नाममा पत्र लेखेर स्पष्टीकरण सोधेको भन्दै बोर्डको कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज विज्ञप्ति निकालेर बोर्ड अध्यक्ष ढुंगानालाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *