Main News

मेलम्चीमा पुनः बाढी, ढल्यो रेडियो मेलम्चीको भवन

हिमालय टिभी
२०७८ साउन १७ गते ७:२६
मेलम्चीमा पुनः बाढी, ढल्यो रेडियो मेलम्चीको भवन

१७ साउन २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा गएराति फेरि बाढी आएको छ ।

बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ ।

गएराती काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित मेलम्ची खोलामा भीषण बाढी आएको हो। बाढीले मेलम्ची बजारमा बांकी रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको जानकारी दिनुभयो । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सारिएको छ ।

रातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिनुभयो । असार १ गते गएको बाढीले रेडियो मेलम्चीको भवन भेलले पुरिएको थियो। मानिसहरु बगर बनेको आफ्नो बस्तीबाट भेल र माटो हटाइरहेका बेला फेरि बाढी आएको हो।

गत असार १ गते ठूलो बाढी आएर जनधनको क्षति पुगेको मेलम्ची र हेलम्बुमा गएराति फेरि बाढी आएपछि स्थानीय त्रसित बनेका छन्। यसअघिको बाढीका कारण तटीय क्षेत्रमा स्थानीय नबसेका कारण मानवीय क्षति भने नभएको बताइएको छ।

ठूलो पानी परेकाले मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्। राति नदीको जलसतह बढेपछि मेलम्ची बजारका बासिन्दा घर छाडेर माथिल्लो क्षेत्र लागेका छन्।

हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएका कारण एक्कासि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। सिपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार अहिले चनौटे बजारको बीच भागबाट नदी बगिरहेको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले मेलम्ची बजारसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन खबर गरिसकेको र सबै ठाउँमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको जानकारी दिनुभयो ।

पानीको बहाव अहिले पनि बढेको तर खतरा भने नरहेको प्रमुख जिल्ला अधिकारी पोख्रेलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *