राजनीति

माधव नेपाल समूह पनि कोरोनालाई जिस्क्याउँदै सभा र जुलुसमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते २०:३६
माधव नेपाल समूह पनि कोरोनालाई जिस्क्याउँदै सभा र जुलुसमा (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दै गएको छ । तर काठमाडौंमा भीड भाड गर्ने क्रम बढ्दो छ । यसमा राजनीतिक दल नै अघि छन् ।

आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संक्रमणको जोखिम बढाउने गरि काठमाडौंमा जुलुस र सभा गरेको छ ।

झन्डा फरफराइ रहेका नेता ।

झन्डा फरफराइ रहेका कार्यकर्ता ।

यो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट अखिल फोर्सले गरेको कार्यक्रम हो । बबरमहलमा सभा गर्नु अघि भृकुटी मण्डपबाट मोटरसाइकलको जुलुस निकालियो । त्यो जुलुश बबरमहल आइपुग्यो र सभामा परिणत भयो ।

यो दृश्य काठमाडौंको हो । काठमाडौं त्यो ठाउँ हो जहाँ शनिबार मात्रै ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

अनि यो दृश्य यस्तो बेला देखिएको छ । जतिबेला कोरोना संक्रमण बढ्दै गएको छ । विज्ञले तेस्रो लहर आउने संभावना रहेको भन्दै सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छन् ।

प्रशासनले २५ जना भन्दा बढी भेला हुन रोक लगाइ रहेको छ । तर यी सबै नियम र विज्ञका आग्रहलाई वेवास्ता गर्दै राजधानीमा चेतनशील भनिएका र सरकारको नेतृत्व गरिसकेका नेताकै उपस्थितिमा यसरी भीड भइरहेको छ ।

त्यसो त नेताहरुलाई भीड भाड गर्दा कोरोना सर्छ र जोगिनु पर्छ भन्ने थाहा नभएको पनि हैन ।

तर नेताको भनाइ र गराइ फरक छ । सयौँको भीड जम्मा गरेर कोरोनाबाट बचौँ भनेर सुझाव दिनुको अर्थ कसरी भेटिएला । गत शनिबार मात्र ओली समूहले यही थलोमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा गरेको थियो । जुन घोषणामा पनि यस्तै भीड थियो । त्यो भीडमा एमाले महासचिव ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

त्यसअघि नेपाल समूहले नै पिपुल्स भोलेन्टियर नामक दस्ता घोषणा गर्दा पनि भक्तपुरमा यस्तै भिड गरेको थियो । जनतालाई २५ जना भन्दा बढी भेला हुन नदिने पुलिस र प्रशासनले यस्ता सभामा भने सुरक्षा दिइरहेका हुन्छन् । यसले नियम कानून र अनुशासन सामान्य नागरिकले मात्र मान्नु पर्छ भन्ने गलत शन्देश गइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्