सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी
१६ साउन २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नु भएको छ ।
उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताउनु भएको हो ।
आज काठमाडांैको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोनाविरुद्धको खोपलाई बढी प्राथमिकता दिएको पनि स्मरण गराउनु भयो ।
उहाँले भन्नु भयो, “खोपलाई सरकारले सबैैभन्दा बढी प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौं भनिरहेको छ ।”
उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताउनु भयो ।
उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गर्नु भयो । उहाँले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिक्रिया