पार्टी ह्वीप उल्लंघनको आरोपमा लुम्बिनी प्रदेशका जसपाका तीन सांसद पदमुक्त (भिडियो रिपोर्टसहित)
१५ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभाका तीन जना सांसद पदमुक्त भएका छन् ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले आज सूचना निकाली सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार सभामुखले तीन सांसदलाई पदमुक्त गरिएको सूचनामा उल्लेख छ ।
सांसदबाट पदमुक्त भएका तीनै जना मुख्यमन्त्री शंकर पोखरले नेतृत्वको प्रदेश सरकारमा मन्त्री हुनुहुन्छ । जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा वैशाख १४ गते पाण्डेय, यादव र पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त हुनुभएको थियो ।
तर सर्वोच्च अदालतको जेठ ३ गतेको आदेश पछि उहाँहरु फेरि प्रदेशसभामा फर्किनुभयो । असार १८ गते रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा र तीन जना महन्थ ठाकुर पक्षमा लाग्नुभयो ।
साउन ११ गते यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गर्यो । पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।
प्रतिक्रिया