एमसीसी संशोधन गरेर मात्र पारित गर्न सांसद भीम रावलको माग (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसद रावलले एमसीसी सम्झौतामा देश हित विपरीतका प्रावधान रहेको भन्दै त्यसलाई सच्याएर मात्र अनुमोदन गर्नु पर्ने बताउनुभयो ।
मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सम्झौतामाथि आशङ्का व्यक्त गर्दै उहाँले सभाबाट अनुमोदन नै नभएको अवस्थामा कसरी कार्यान्वयन हुन्छ भनेर प्रतिप्रश्न गर्नुभयो । “पहिला अनुमोदन होस् अनि पो कार्यालय खोल्ने र अन्य काम अघि बढाउने भन्ने कुरा हुन्छ”, डा रावलले भन्नुभयो, “एमसिसीमा उल्लेख भएका कुरा नेपालको संविधानसँग बाझिने खालका छन्, राष्ट्र हितमा छैन ।” उपाध्यक्ष डा रावलले एमसिसीको नाममा आफ्नो भूमि कुनै पनि कम्पनीलाई सुम्पिन नसक्ने जिकिर लिनुभयो ।
उहाँले कुनै पनि देशसित कूटनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने तर सन्धि गर्दा देशको हितमा छ, छैन भन्ने कुराको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै सांसदले एमसिसीको अध्ययन गर्न पाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।
संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम शुरु भइसकेकोमा आपत्ति जनाउनुभयो । उहाँले एमसीसीको मूल सम्झौतासँगै भएका सबै सम्झौता संसदमा पेश गर्न माग गर्नुभएको हो ।
नेता रावलले भूगोलका आधारमा नेपाल सानो भए पनि सार्वभौमका आधारमा सानो नभएको बताउँदै सबैसँग पारस्परिक र समानताका आधारमा सम्बन्ध गाँस्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया