कोरोना बढ्ने क्रम जारी, थप २० जनाको मृत्यु, ३८९९ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ । पछिल्लो पटक एकैदिन झण्डै चारहजार संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको विवरण अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा संक्रमण तिब्र हुँदै गएको छ । १२ हजार ६ सय ५५ पीसीआर परीक्षण गर्दा २७ सय २६ र ४ हजार ८ सय ६३ एन्टिजेन परीक्षण गर्दा ११ सय ७३ जना गरेर ३८ सय ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
परीक्षणका आधारमा संक्रमितको यो संख्या २२ प्रतिशत भन्दा बढी हो । थपिएका मध्ये झण्डै ८ सय संक्रमित काठमाडौं उपत्यकामा छन् ।
काठमाडौंमा ४ सय ७५, ललितपुरमा १ सय ६७ र भक्तपुरमा १ सय ३२ संक्रमित बढेका छन् । प्रदेश एकका तराइका जिल्लामा पनि संक्रमण उच्च छ । झापामा २ सय ६१, मोरङमा २ सय ४९ र सुनसरीमा १ सय ८९ संक्रमित थपिएका छन् ।
कास्कीमा २ सय ७८, चितवनमा १ सय ९३ र नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक संक्रमणमुक्त हुनेको संख्या १७ सय ७८ मात्रै छ । त्यसैले सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ३६ पुगेको छ ।
निषेधाज्ञा खुलेपछि संक्रमण बढ्दै गएको छ । आइसीयु र भेन्टिलेटरमा जाने संक्रमितको संख्या पनि बढ्दै गएको छ । ६ सय ११ जनाको आइसीयू र १ सय ७१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।
प्रतिक्रिया