अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख फेर्ने तयारीमा सरकार
१२ साउन २०७८ काठमाडौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका तीन वटा प्रदेशका प्रमुख फेर्ने तयारी गरेको छ ।
प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रमुख फेर्ने तयारी भएको हो । संभवत आज बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गर्न सक्ने एकजना मन्त्रीले जानकारी दिएका छन ।
प्रदेश २ का राजेश झा अहिराज, गण्डकीका सीता पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई हटाएर नयाँ नियुक्त गर्ने सरकारको तयारी छ।
प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराजलाई नियुक्त गरिएको थियो । त्यस्तै गण्डकीमा अमिक शेरचनलाई हटाएर गत वैशाख २० गते पौडेललाइ प्रदेश प्रमुख बनाइएको थियो ।
लुम्बिनीमा भने २०७६ कात्तिक १८ गते यादव प्रदेश प्रमुख बन्नुभएको थियो ।
संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रमुख नियुक्त गरेको थियो ।
तर प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सातैजना प्रदेश प्रमुख फेर्नुभएको थियो ।
प्रदेश प्रमुखको नियुक्ति मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया