Main News

कोरोना खोप लगाउन अनलाइन दर्ता, पहुँच नभएकाले कसरी पाउँछन् खोप ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १४:५४
कोरोना खोप लगाउन अनलाइन दर्ता, पहुँच नभएकाले कसरी पाउँछन् खोप ? (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । सरकारले अनलाइन फारम भरेर कोरोनाविरुद्धको खोप लगाउन पाउने गरी तयारी गरेको छ । खोपकेन्द्रमा निक्कै भीड भएपछि व्यवस्थित गर्न अनलाइनबाट फारम भर्नु पर्ने व्यवस्था गरिएको हो । यसले इन्टरनेटको पहुँच नभएका नागरिकलाई भने समस्या हुने देखिएको छ ।

सरकारले कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम भर्नु पर्ने व्यवस्था गर्न लागेको छ । खोप केन्द्रमा भएको भद्रगोल व्यवस्थित गर्न भन्दै सरकारले खोप लगाउन इच्छुक सबैलाई अनलाइन फारम भर्न भनेको छ ।

खोप लगाएपछि प्रमाणीकरण गर्न, खोप केन्द्रमा भएको भिडभाड नियन्त्रण गर्न सहज हुने र नागरिकलाई पनि भिडभाडमा गएर खोप लगाउनु पर्ने बाध्यता कम हुने सरकारको विश्वास छ । तर अनलाइन फारम नभर्दैमा खोप लगाउनै नपाउने भन्ने होइन । किनभने सरकारले १८ वर्ष माथिका ७२ प्रतिशत नागरिकलाई खोप दिने लक्ष्य छ ।

स्वास्थ्य मन्त्रालयले यसअघि पनि खोपका लागि फारम भराएको थियो । तर त्यो फारम भर्नेले पनि खोपमा प्राथमिकता पाएनन् । त्यसैले फारम भर्न अरु नागरिक इच्छुक भएनन् । अहिले भने सरकारले अनलाईन फारम भरेकालाई नम्बर अनुसार खोप लगाउने प्राथमिकतामा राख्ने स्पष्ट पारेको छ ।

यसले अनलाईनको पहुँचमा नभएका व्यक्तिहरु प्राथमिकतामा पर्ने छैनन । तर उनीहरु खोप लगाउन केही समय बञ्चित भए पनि खोप केन्द्रको व्यवस्थापन सहज भए पछि उनीहरुले पनि खोप पाउने छन् ।

अनलाइन फारम भरेकै आधारमा खोप लगाउन पाउने भन्ने सुनिश्चितता पनि सरकारले तत्काल गरिसकेको छैन । किनभने अनलाइन फारम भरेकै आधारमा खोप दिन व्यवहारिक रुपमा कठिनाइ छ ।

सरकारले अनलाइन फारमबाट सुरु गरेको काम प्रशंसनीय छ । तर सबै जना अनलाईन र विद्युतिय उपकरणको पहूँचमा नभएकाले खोप केन्द्र बढाउन सरकारले जोड दिनुपर्ने जनस्वास्थ्य विद्को सुझाव छ ।

नेपाल टेलिकमका अनुसार ९० प्रतिशत भन्दा बढि नागरिक इन्टरनेटको पहुँचमा छन् । तर सरकारले भनेजसरी अनलाईन फारम भरेर खोप केन्द्रमा जान भने सबैलाई सम्भव छैन । त्यसैले इन्टरनेटको पहुँचमा नभएका, साक्षर नभएका व्यक्तिलाई पनि लक्षित गर्दै सरकारले सहज तरिकाले खोप लगाउने व्यवस्थापन गर्नु आवश्यक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *