Main News

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न डा. केसीको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १४:३६
नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न डा. केसीको माग (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्नुभएको छ ।

उहाँले विभिन्न ६ बुँदे माग राख्दै पुरा नगरे सत्याग्रह गर्ने चेतावनी पनि दिनुभएको छ । डाक्टर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ६ बुँदे खबरदारी पत्र पठाउँदै स्वार्थ बाझिने व्यक्तिलाई मन्त्रीबाट हटाउन माग गर्नुभएको हो ।

केसीले पठाएको पत्रमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सबै लगानीबाट तत्काल अलग हुनुपर्ने या पदमुक्त गर्नुपर्ने उल्लेख छ ।

व्यापारी र व्यवसायी घुस दिएर चोरबाटोबाट सांसद र मन्त्री बन्ने गरेको र यस्ता व्यक्तिले आफ्नो व्यवसायको हित हुने गरी कानून बनाएर नीतिगत भ्रष्टाचार गर्ने गरेको डाक्टर केसीको आरोप छ । आइतबार नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी छ ।

सरकारका शुरुआती गतिविधिले स्वास्थ्य सेवा सुधारको अपेक्षा गरेका नागरिकलाई पहिलो गाँसमै ढुंगा लागेको भन्दै केसीले निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय रहेको पनि उल्लेख गर्नुभएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल चलिरहेको आन्दोलनका सबै माग पूरा गर्नुपर्ने भन्दै केसीले भ्रष्टाचार प्रमाणित भएका पदाधिकारीलाई तत्काल पदमुक्त गर्न पनि आग्रह गर्नुभएको छ ।

यस्तै उहाँले पूर्ववर्ती सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने, नाजायज हस्तक्षेप गर्न खोज्ने तथा भौतिक आक्रमणको धम्की दिने व्यक्तिलाई कारवाही गर्न पनि केसीले माग गर्नुभएको छ ।

आफ्ना माग पूरा नगरे सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी पनि उहाँले दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *