Main News

काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना, थप २५ जनाको मृत्यु, ३४२१ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १७:०८
काठमाडौंमा ह्वात्तै बढ्यो कोरोना, थप २५ जनाको मृत्यु, ३४२१ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै बढेको छ । उपत्यकाका तीनवटै जिल्लामा संक्रमण बढेको छ ।

स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार देशभर ३४ सय २१ संक्रमित थपिएका छन् । ति मध्ये करिव १ हजार काठमाडौं उपत्यकामा मात्रै छन् ।

काठमाडौंमा ६ सय ७७, ललितपुरमा १ सय ९७ र भक्तपुरमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितको यो संख्या केही साता यताकै उच्च हो । पछिल्लो पटक देशभर १२ हजार २ सय ४० पीसीआर परीक्षण गर्दा २३ सय ९१ र ५ हजार ३२ एन्टिजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ ।

निषेधाज्ञा खुलेपछि विशेषगरी बागमति, प्रदेश एक र गण्डकी प्रदेशमा संक्रमण बढिरहेको छ । झापामा मात्रै ३ सय १४ जना संक्रमित थपिएका छन् ।

यस्तै मोरङमा १ सय २०, सुनसरीमा १ सय ६, नवलपरासी पूर्वमा १ सय ५, चितवनमा ९८, मकवानपुरमा ८४, कास्कीमा ६२ तथा धादिङमा ६१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक १६ सय ६८ जनामात्रै संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ पुगेको छ । ति मध्ये ६ सय ६९ जनाको आइसीयू र १ सय ६६ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । कुल मृतकको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *