पार्टी सम्पर्कमा आइन् लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर
११ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आउनुभएको छ ।
केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आउनुभएकी ढेंगामगर आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन हुनुभएको थियो ।
सांसद मगर सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिनुभएको थियो ।
आज बिहान ९ बजेतिर पोखरेलले गरेको फोन सांसद ढेंगाले रिसिभ गरेर आफू पार्टीमै रहेको जानकारी गराउनुभएको छ । ढेंगाले आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन रिसिभ नगरेको जानकारी गराएको पोखरेलले बताउनुभयो ।
सांसद ढेंगाले घरमै छु भने पनि पार्टीका नेताहरु घर पुग्दा उहाँ रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने नरहेको नेता पोखरेलले जानकारी दिनुभयो ।
पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय थियो । व्यवसाय गर्दाको ऋणका कारण पनि सांसद ढेंगामगर तनावमा हुनुहुन्छ ।
प्रतिक्रिया