Main News

निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा, हत्यारा खै ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते २०:२८
निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा, हत्यारा खै ? (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की बालिका निर्मला पन्तको हत्या भएको आज तीन वर्ष पूरा भएको छ । तर अहिलेसम्म अपराधीको पहिचान हुन नसक्दा पीडित परिवारले न्याय पाउन सकेको छैन ।

१३ वर्षीया बालिका पन्तको २०७५ साल साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरण नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको पहिलो घटना भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

तर पनि तीन वर्षसम्म घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरी सफल हुन सकेको छैन । तर अनुसन्धान निरन्तर चलिरहेको प्रहरीको दावी छ ।

अनुसन्धानकै लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी नेतृत्वको टोली तीन वर्षदेखि कञ्चनपुरमै छ भने प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट समेत विशेष टोली अनुसन्धानमा संलग्न छन् । तर हालसम्म घटनाबारे सार्वजनिक गरिहाल्नुपर्ने ठोस प्रगति भने भएको छैन ।

निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन दिएका थिए । तर ती प्रतिवेदन अहिलेसम्म कार्यान्वयन भएका छैनन् । त्यसैले सरकारमाथि नै अधिकारकर्मीको आशंका छ ।

२०७५ साल फागुनमा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा शेरबहादुर देउवाले निर्मलाको न्यायका लागि सरकारलाई दबाब दिने बताउनु भएको थियो । संयोगले देउवाले नै अहिले सरकारको नेतृत्व गरिरहनुभएको छ । पहिले सरकारलाई दबाब दिएका देउवाले अब काम गरेर देखाओस भन्ने निर्मलाको परिवारको चाहना छ ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे हत्यारा पत्ता लगाउन सरकारले काम गरिरहेको बताउनुहुन्छ । र चाँडै हत्यारा पत्ता लाग्ने आश्वासन पनि उहाँ दिनुहुन्छ ।

निर्मलाको परिवारले आश्वासनमै ३ वर्ष बिताएको छ । तर पनि हत्यारा पत्ता नलाग्नु दुखद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *