Main News

भिसा सकिएका विदेशी नागरिकलाई स्वदेश फर्कन भनेपछि यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १७:३१
भिसा सकिएका विदेशी नागरिकलाई स्वदेश फर्कन भनेपछि यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ पोखरा । सरकारले भिसा अवधि सकिएका विदेशी नागरिकलाई स्वदेश फर्कन भने पछि यसको प्रभाव पर्यटकमा देखिएको छ ।

पहिलो चरणको कोरोना महामारी सामान्य भएसँगै नेपाल आएका पर्यटक अहिले पनि पोखरामा बसिरहेका छन् । उनीहरु आफ्नो देश फर्कन जोखिम रहेको भन्दै नेपालमै बस्न चाहेको बताउँछन् ।

अष्ट्रेलियाका ६९ वर्षीय फ्रेङ्क अर्मिडा जागिरे जीवनबाट अवकाश लिएपछि नेपाल आउनुभयो । अर्मिडा अहिले पोखरामा हुनुहुन्छ । पर्यटक भिसामा आएका अर्मिडाले कोरोना संक्रमणका कारण इच्छा अनुसार नेपाल घुम्न पाउनु भएन । पोखरामा रहँदा नै उहाँको भिसाको म्याद सकिएको छ ।

नेपाल सरकारले भिषाको म्याद सकिएकालाई एक हप्ताभित्र देश छोड्न भनेको छ । तर उहाँलाई नेपाल छाडेर कहाँ जाने भने चिन्ता छ । किनकी कोरोना संक्रमण उच्च भएका भारत नेपाललगायतका देशबाट फर्केका आफ्नै नागरिकलाई पनि अष्ट्रेलियाले प्रदेश दिएको छैन ।

अवकाश जीवनमा नेपाल घुम्न आएकी अमेरिकाकी लिण्डा सारन्डाको चिन्ता पनि अष्ट्रेलियाका अर्मिडाको जस्तै छ । त्यसैले उहाँ जरिवाना तथा भिसाको थप शुल्क लिएर भए पनि केही समय नेपालमै बस्न पाए हुन्थ्यो भन्ने उहाँलाई लागेको छ ।

जर्मनीकी ३५ वर्षीया निकोल कोल्वर्ग आफूले हातमा लगाएमो मेहन्दी देखाउँदै नेपाली चाडवाड र संस्कृतिले आफूलाई मोहित पारेको बताउनुहुन्छ । आफ्नो नेपाली साथीले लगाइदिएको मेहन्दी देखाउँदै मख्म परेकी कोल्वर्ग तिहार पनि नेपालमै मनाउन पाएँ हुन्थ्यो भन्ने लागेको छ ।

तर अहिले यो बेला भिसा अवधि सकिएकाले अप्ठ्यारोमा परेको कोल्वर्गको गुनासो छ । अरुबेला आफ्नो देश जान झण्डै ९० हजार भए पुग्नेमा अहिले जाँदा जोखिमसंगै तीन लाखभन्दा धेरै खर्च लाग्ने कोल्वर्गको गुनासो छ ।

पर्यटन व्यवसायीले अहिलेको कठिन अवस्थामा पोखरामा बस्न चाहने पर्यटकलाई थप शुल्क लिएरै भए पनि बस्ने व्यवस्था गरिदिन सरकारलाई सुझाव दिएका छन् । भिसा अवधि सकिए पछि स्वदेश फर्कनुपर्ने बाध्यता भए पनि कोरोना प्रभावलाई ध्यान दिँदै सरकारले पर्यटक र पर्यटन क्षेत्र उठाउने कार्यक्रम ल्याउनु पर्नमा व्यवसायीको जोड छ ।

कोरोना संक्रमणको दोस्रो लहरको बेला पनि पोखरामा २ सय ५० को हाराहारीमा विदेशी पर्यटक छन् । पर्यटक भिसामा नेपाल आउने विदेशीले एक वर्षमा १ सय ५० दिन नेपालमा बिताउन पाउँछन् ।

यसरी नेपाल आएका विदेशी पर्यटकको भिसा अवधि सकिइसकेको छ । दुई महिना निषेधाज्ञाका कारण पर्यटकका लागि त्यो अवधि २ सय १० दिनसम्मका लागि लम्ब्याइएको छ ।

नेपाल घुम्न आएका पर्यटक निषेधाज्ञाका कारण घुम्ने अवस्थासमेत थिएन । यस्तो अवस्थामा थप समय नेपाल बस्न चाहने पर्यटकलाई समय थप गर्न सके पर्यटन क्षेत्रलाई समेत टेवा पुग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *