Main News

यातायात व्यवसायीले सरकारलाई बुझाए सार्वजनिक सवारी साधनको साँचो

हिमालय टिभी
२०७८ साउन १० गते १३:४५
यातायात व्यवसायीले सरकारलाई बुझाए सार्वजनिक सवारी साधनको साँचो

१० साउन २०७८ काठमाडौं । आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन् ।

कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बूँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।

आज काठमाडौंको माइतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पु¥याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका हुन् ।

कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिनु भयो । उहाँले आफूहरुको माग अब पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिनु भयो ।

यता, प्रमुख जिल्ला अधिकारी पराजुलीले पनि यातायात व्यवसायीहरुले आफ्ना माग सम्बोधन गर्न दवाव दिने गरी बुझाएको सार्वजनिक सवारी साधनको साँचो गृह मन्त्रालयमार्फत् तत्काल प्रधानमन्त्री देउवालाई बुझाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यस अवसरमा उहाँले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न यातायात व्यवसायीहरुलाई आग्रह पनि गर्नु भयो ।

यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुका लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको बीमा, नवीकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानून तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका ७ बूँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन् ।

यातायात क्षेत्रसँग सम्बन्धित सबै निकायमा माग सम्बोधन गर्न दिइएको दवाव पूरा नभएपछि प्रधानमन्त्रीलाई सार्वजनिक यातायातको साँचो नै बुझाउन बाध्य हुनु परेको महासंघले जनाएको छ । आफूहरुको माग अव पनि सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि यातायात व्यवसायीहरुको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *