राजनीति

कोरोनालाई गिज्याउँदै सडकमा युवाको जुलुस ! (भिडियो रिपोर्टसहित )

हिमालय टिभी
२०७८ साउन ९ गते २०:४०
कोरोनालाई गिज्याउँदै सडकमा युवाको जुलुस ! (भिडियो रिपोर्टसहित )

९ साउन २०७८ काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्दै गएको छ । तर काठमाडौंमा भीडभाड गर्ने क्रम बढ्दो छ । यसमा राजनीतिक दल नै अघि छन् । आज निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षबाटै कोरोनालाई गिज्याउने गरी काठमाडौंमा जुलुस र सभा गरिएको छ ।

यो भीड काठमाडौंमा जम्मा भएको आजकै भीड हो । नेकपा एमालेको संस्थापन पक्षले युथ फोर्सको भ्याली कमाण्ड घोषणा गर्न आयोजना गरेको सभा ।

आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपाल र उहाँ पक्षधर नेताको विरोधमा प्रदर्शन गर्दै आएको युथ फोर्सको भ्याली कमान्ड घोषणा सभामा अध्यक्ष केपी शर्मा ओली नै आउने भनिएको थियो । तर ओली आउनु भएन । त्यसैले महासचिव ईश्वर पोख्रेल यो सभाको मुख्य अतिथि हुनुभयो ।

पोखरेल असार २९ गतेअघिसम्म सरकारको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । अझ त्यो भन्दा पनि रमाइलो कुरा २ महिना अघिसम्म उहाँ कोभिड–नाइन्टिन संकट व्यवस्थापन केन्द्र सीसीएमसीको संयोजक पनि हुनुहुन्थ्यो ।

उहाँकै नेतृत्वको यो केन्द्रले कोरोना संक्रमण रोक्न भिडभाड नगर्ने भन्दै निषेधाज्ञा र लकडाउनको सिफारिस गर्थ्यो । उहाँले नै गरेको निर्णयका आधारमा अहिले पनि २५ जनाभन्दा बढी भेला हुन प्रशासनको अनुमति छैन ।

तर अहिले पोखरेलको भूमिका फेरिएको छ । केपी ओली सत्याच्युत भएसँगै पोखरेल पनि अहिले सडकमा पुग्नु भएको छ । र विगतमा आफूले नगर भनेकै काम गरिरहनु भएको छ ।

कोरोना महामारी जारी रहँदा पनि उहाँलाई यो भीड जम्मा गरेर भाषण गर्न नैतिकताले रोकेको छैन । त्यसो त कोरोना संक्रमण जारी रहेकै बेला ओली पक्ष मात्र हैन नेपाल पक्षले पनि यस्ता सभा र भीड गर्दै आएको छ ।

केहीदिन अघि मात्रै नेपाल पक्षले पिपुल्स भोलेन्टियर नामक दस्ता घोषणा गर्दा यस्तै भिड गरेको थियो । यस्ता भीड त्यतिबेला भइरहेको जतिबेला कोरोना संक्रमण फेरि बढ्दै गएको छ ।

विज्ञले तेस्रो लहर आउने संभावना रहेको भन्दै सावधानी अपनाउन बारम्बार आग्रह गर्दै आएका छन् । प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । तर यी सबै नियम र विज्ञका आग्रहलाई बेवास्ता गर्दै राजधानीमा यस्ता भीड भइरहेका छन् ।

यसबाट राजनीतिको आडमा देशमा जे गरेपनि हुन्छ र राजनीति गर्नेलाई जे पनि छुट छ भन्ने शन्देश दिन खोजिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्