Main News

जसपाको विवाद टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

हिमालय टिभी
२०७८ साउन ९ गते १३:१६
जसपाको विवाद टुंगो लागेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

९ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंगिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।

जसपाको आधिकारिता विवाद साउन ११ मा टुंग्याउने निर्वाचन आयोगको तयारी छ । असार २९ मा शपथग्रहण गरेका देउवाले त्यही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई–दुई गरी चार सदस्यीय मन्त्रिमण्डल गठन गर्नु भएको थियो ।

तर, सत्तागठबन्धनमा रहेको जसपाको विवाद आयोग पुगेकाले उनीहरूकै आग्रहमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्नु भएको हो ।

जसपा विवाद मिल्दासम्म एमाले विवादले पनि एउटा रूप लिने प्रधानमन्त्रीको बुझाइ छ । देउवाले आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहनु भएको छ ।

सरकार सञ्चालनमा सहयोग गर्न सत्तारुढ गठबन्धनले बनाएको कार्यदलको शुक्रबारको बैठकमा मन्त्रालय बाँडफाँडको विषयले प्रवेश पाए पनि टुंगो लागेको छैन । तर, सत्तारुढ तीनदलीय कार्यदलमा मन्त्रिपरिषद् विस्तारमा केही समय ढिला गर्ने सहमति बनेको छ ।

मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारको काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा खड्कासहित, कांग्रेसबाट डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *