चल्न थाले आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात
९ साउन २०७८ काठमाडौं । आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन चल्न थालेका छन् ।
विद्यार्थीहरूको परीक्षालाई मध्यनजर गरेर विद्यार्थीलाई यात्राका लागि सहजीकरण गर्न गाडी चल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात चल्न दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
यातायात व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन समेत कार्यालयले अनुरोध गरेको छ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाइसकिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि साउन १० गते राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।
प्रतिक्रिया