राजनीति

मुख्यमन्त्री नियुक्त भएको ४१ दिनपछि मन्त्रिपरिषद् विस्तार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ८ गते २१:०२
मुख्यमन्त्री नियुक्त भएको ४१ दिनपछि मन्त्रिपरिषद् विस्तार (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ पोखरा । गठबन्धन भित्रको विवादकोबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ४१ दिनपछि पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्नुभयो । मुख्यमन्त्रीसँगै सपथ लिएका जनता समाजवादी पार्टीको तर्फबाट मन्त्री भएका हरिशरण आचार्यले सपथग्रहण कार्यक्रम बहिष्कार गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नियुक्त गरेका ६ मन्त्रीलाई प्रदेश प्रमुख सिताकुमारी पौडेलले सपथ गराउनु भयो । सपथ ग्रहण कार्यक्रममा मन्त्री लगायत उच्च पदस्थ व्यक्ती सहभागी हुने प्रचलन छ ।

यसअघि नै नियुक्त चार मध्ये तीन मन्त्री उपस्थित थिए । तर जनता समाजवादी पार्टीका नेता एवम उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले समारोह बहिस्कार गर्नुभयो । सहमति अनुसार मन्त्रालय बाडफाँट नभएपछि आचार्यले सपथ ग्रहण समारोह बहिस्कार गर्नु भएको हो ।

पृथ्वी सुब्वा गुरुङ नेतृत्वको सरकारलाई हटाएर कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गत जेठ २९ गते गठन भएको सरकार सुरु देखिनै आन्तरिक झमेलामा फस्दै आएको थियो ।

मुख्यमन्त्रीले विव्श्वासको मत लिने दिन अर्थसहित दुई मन्त्रालय पाउने गरी सहमति भएको थियो । विवादकै बीच दुई मन्त्रालय लिने गरी आचार्यले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको थियो । तर फेरि पनि धोका भएको आचार्यको गुनासो छ ।

उहाँ मुख्यमन्त्री प्रति आक्रोशित हुनुहुन्छ । मुख्यमन्त्री पोखरेलले केन्द्रीय नेतृत्वले सहमति गरे अनुसार मन्त्रालय बाडफाँट भएको भने पनि आचार्यले त्यस्तो सहमति नभएको दाबी गर्नुहुन्छ ।

सरकारका प्रवक्ता एवं कांग्रेस नेता कुमार खड्का आफुहरु सहमति अनुसार समाजवादीलाई दुई मन्त्रालय दिन तयार भए पनि केन्दीय नेताहरुले कांग्रेस, माओवादीलाई चार चार, स्वतन्त्र र जसपालाई एक एक मन्त्रालय दिने गरी सहमती गर्दा मुख्यमन्त्री अप्ठ्यारोमा परेको बताउनुभयो । मन्त्रालय थपेर भए पनि जसपालाई दुई मन्त्रालय दिने पक्षमा मुख्यमन्त्री रहेको खड्काको प्रष्टिकरण छ ।

लामो समय भागबण्डामा रुमलिएको गठबन्धन मन्त्रालय थप्दा समेत भाग नपुगे पछि मन्त्रालय थप्ने तयारीमा छ ।

गण्डकीमा सरकार स्थापना भए पछि ७ मन्त्रालय थिए । सरकार छोड्ने बेला तत्कालिन मुख्यमन्त्री पृथ्बी सुव्वा गुरुङले मन्त्रालय फोडेर ११ मन्त्रालय बनाउनु भएको थियो । मुख्यमन्त्री पोखरेलले त्यसलाई पनि बढाएर १२ मन्त्रालय बनाउने तयारी गर्नु भएको छ । तर त्यसको चर्को विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्