Main News

असन्तुष्टिबीच गण्डकी प्रदेश सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिरस्कार

हिमालय टिभी
२०७८ साउन ८ गते १५:११
असन्तुष्टिबीच गण्डकी प्रदेश सरकारले पायो पूर्णता, जसपाद्वारा शपथ बहिरस्कार

८ साउन २०७८ पोखरा । असन्तुष्टिका बीच गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ६ जना नयाँ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिनुभएको हो ।

नयाँ मन्त्रीलाई प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराउनुभयो । तर आफूहरुसँग भएको सहमति उल्लंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानून मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिनुभएको छ ।

यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिनुभयो । यस्तै माओवादी केन्द्रबाट रामजी बरालले आर्थिक मामिला, दीपक घर्ती मगरले वन, वातावरण तथा भूसंक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिनुभएको छ ।

धोका दिएको भन्दै जसपाले आपत्ति जनाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनता समाजवादी पार्टीलाई दुईवटा मन्त्रालय दिने भनेर असार ४ मा लिखित सहमति गर्नुभएको थियो ।

सरकारले पूर्णता पाउँदा प्रदेश सभामा दुई सांसद रहेको जसपाले एउटा मात्रै मन्त्रालय पाएको छ । जसपाका हरिशरण आचार्य गठबन्धन सरकार गठनकै दिन मन्त्री बन्नुभएको थियो ।

अर्का सांसद धनमाया लामा पोखरेलले कृषि मन्त्रालय पाउने चर्चा थियो । तर, आज मुख्यमन्त्री पोखरेलले कांग्रेसबाट दुई मन्त्री चयन गर्नुपर्नेमा तीन जनाको नाम र मन्त्रालय टुंग्याउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *