राजनीति

अनशनकारीको माग तत्कला सम्बोधन गर्न कांग्रेस सभापति देउवाको निर्देशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ८ गते १५:००
अनशनकारीको माग तत्कला सम्बोधन गर्न कांग्रेस सभापति देउवाको निर्देशन (भिडियो रिपोर्टसहित)

८ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन निष्पक्ष ढंगले गर्न दवाव स्वरुप अनशन बस्दै आएका पार्टीका नेता, कार्यकर्ताको माग तत्काल सुनुवाई गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई निर्देशन दिनु भएको छ ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा आज बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहनु भएका सभापति देउवाले धाँधलीरहित ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्न दवाव दिँदैै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदै आएका नेता, कार्यकर्ताहरुको माग आज दिनभरमा सुुनुवाई गरी भोलि बिहान बस्ने पदाधिकारी बैठकमा पेश गर्न छानबिन समितिलाई सचेत गराउनु भएको हो ।

निष्पक्ष ढंगले पार्टीको क्रियाशील सदस्यता छानबिनबारे माग राख्दै पार्टी कार्यालयमा धर्ना दिँदै आउनु भएका नेता, कार्यकर्ताहरुको माग आज दिनभर सुनुवाई गरी भोलि बिहान पुनः बस्ने पदाधिकारी बैैठकमा पेश गर्न सभापति देउवाले छानबिन समितिलाई निर्देशन दिनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

उहाँले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “सभापतिजीले निर्देशन दिनु भएको छ– पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर जो पार्टी कार्यालयमा अनशन बस्दै आउनु भएका छ, उहाँहरुको मागको सुनुवाई आजैै गरी भोलि बस्ने बैठकमा पेश गर्नु ।”

नेपाली काँग्रेसको पदाधिकारी बैठकले भोलि साउन ९ गते बिहान नौं बजे सभापति देउवाको निवास बुढानीलाकण्ठमै बस्नेछ । बैठकले क्रियाशील सदस्यता वितरणका सम्बन्धमा देखिएको समस्या समाधान गर्ने पार्टी केन्द्रीय कार्य समितिले मात्रै टुंगो लगाउने पनि स्पष्ट पारेको छ ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले साउन १० गते आइतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी समेत गराउनु भएको थियो ।

कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि शुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन समेत नआएकाले सो सम्बन्धि मिति तय गर्ने विषयमा पनि भोलि बोलाइएको पदाधिकारी बैठकमा छलफल हुने निर्णय गरिएको प्रवक्ता शर्माले बताउनु भयो ।

उहाँले भन्नुभयो,“क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै निर्वाचन समितिलाई सो बुझाउनुपर्ने हुन्छ । सो बुझाएपछि मात्रै तल्लो तहको पार्टीको अधिवेशन शुरु हुने भएकाले भोलिको पदाधिकारी बैठकले त्यसको अधिवेशन मिति सार्ने विषयमा पनि टुंगो लगाउनेछ ।”

बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन शुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राख्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्