Main News

ओलीबाहेक छिन्नभिन्न भएका नेपालका कम्युनिष्ट नेताहरु आज एउटै मञ्चमा

हिमालय टिभी
२०७८ साउन ८ गते १३:४७
ओलीबाहेक छिन्नभिन्न भएका नेपालका कम्युनिष्ट नेताहरु आज एउटै मञ्चमा

८ साउन २०७८ काठमाडौं । आन्तरिक विवाद र टुटफुटका कारण छिन्नभिन्न भएका नेपालका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरु आज एउटै मञ्चमा जम्मा भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सम्मले आज एकै मञ्चबाट सम्बोधन गर्दै छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई एउटै मञ्चमा बोलाइएको हो । पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले अहिले काठमाडौंमा आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा एमाले अध्यक्ष ओलीबाहेक कम्युनिस्ट पार्टीका शीर्ष नेतालाई वक्ताका रूपमा बोलाइएको छ ।

एमालेकै माधव नेपाल निकटको पुष्पलाल मित्रता केन्द्र कार्यक्रमको आयोजक छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा कार्यक्रम शुरु भएको आयोजकले जनाएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा सबै कम्युनिष्ट नेताहरुले एकताको विषयमा जोड दिने छन् ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य र नेकपा महासचिव विप्लवले प्रवचन दिने तय भएको छ ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी र एमाले नेतृ अष्टलक्ष्मी शाक्य पनि वक्ताका रुपमा रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *