Main News

प्रधानमन्त्री देउवाले पार्टीका कुनै पनि कार्यक्रम बालुवाटारमा नगर्ने

हिमालय टिभी
२०७८ साउन ८ गते ७:४८
प्रधानमन्त्री देउवाले पार्टीका कुनै पनि कार्यक्रम बालुवाटारमा नगर्ने

८ साउन २०७८ काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो ।

सामाजिक सञ्जालमा आएका सुझावअनुसार प्रधानमन्त्रीले पार्टीको औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने निर्णय गरेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो ।

देउवाले आजै पार्टी पदाधिकारीको बैठक बोलाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यताको विवादलाई लिएर अनशन र धर्ना जारी रहेकाले बैठक सभापतिको निजी निवास बूढानीलकण्ठमा हुने भएको हो ।

क्रियाशील सदस्यता विवाद समाधानका लागि देउवाले बैठक बोलाउनु भएको हो । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यतालाई लिएर जिल्लाबाट आएका नेता तथा कार्यकर्ताको केन्द्रीय कार्यालयमा भीड लाग्न थालेको छ ।

प्रदेश २ का धनुषा, बारा र सर्लाहीमा संस्थापन पक्षले सदस्यता वितरणमा अनियमितता भएको भन्दै चर्को विरोध हुँदै आएको छ । धनुषाका चन्द्रमणि यादव, राम पल्टन साह र दिनेश नायक पाँच दिनदेखि पार्टी कार्यालयको मूल ढोकामा आमरण अनशन बस्नु भएको छ ।

सर्लाहीका ७१ वर्षीय राम गोविन्द राय बुधबारदेखि आमरण अनशनमा हुनुहुन्छ । यसै विषयलाई लिएर सांसद अमरेश कुमार सिंहले बुधबार सांसद पदबाट राजीनामा दिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *