Main News

खोप कार्ड प्रमाणिकरणका लागि अस्पतालमा भीड, युवालाई सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ७ गते २०:२५
खोप कार्ड प्रमाणिकरणका लागि अस्पतालमा भीड, युवालाई सास्ती (भिडियो रिपोर्टसहित)

७ साउन २०७८ काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा विदेश जानको लागि खोप कार्डको प्रमाणिकरण गर्ने व्यवस्था गरेको छ ।

जसका लागि विदेश जान लागेका युवाको अस्पतालमा भीड लागेको छ । त्यो भीडमा युवाले निकै सास्ती पाएका छन् ।

हातमा पासपोर्ट र कोरोनाको खोप लगाएको प्रमाणपत्र बोकेकी युवती शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेटमै बेहोस भइन् ।

उनी कोरोनाको खोप लगाएको प्रमाण पत्र लिन लामो समयदेखि लाइन बसेकी थिइन । खोप लगाए पनि विदेश जान त्यसको प्रमाणपत्र चाहिन्छ । बिहानदेखी भोको पेट यो भीडमा लाइन बस्दा उनी बेहोस भइन् ।

कोरोना संक्रमण तिब्र भएसँगै विभिन्न देशले यात्रा नियममा परिवर्तन गरेका छन् । जसका कारण अब विदेश जान भिषा मात्र भएर पुग्दैन । कोरोनाको खोप लगाएको प्रमाण पत्र पनि पेश गर्नुपर्छ ।

त्यसैले विदेश जाने तयारीमा रहेका मेचीदेखि महाकालीसम्मका युवा यहाँ आइपुगेका छन् । बिहानै झिसमिसेमा आएका युवाको पनि दिउँसो सम्म पालो आएको छैन । कोरोनाको खोप भन्दा प्रमाणपत्र पाउन समस्या छ ।

सुर्खेतका दिपेश नेपाली १० हजार रुपैयाँ हवाई भाडा तिरेर काठमाडौं आइपुग्नुभयो । र सरासर शुक्रराज अस्पताल पुग्नुभयो । तर उहाँले खोप लगाएको आधिकारिक प्रमाण पत्र कहिले पाउनुहुन्छ कुनै टुंगो छैन ।

खोप कार्ड प्रमाणित गर्न विहान ३ बजेदेखि लाईनमा बसेकाहरुको दिउँसो ३ बजेपनि पालो आएको छैन । मोरङका लक्ष्मण राई पर्सि उड्नुपर्ने हो । तर प्रमाणपत्र नपाउँदा उहाँलाई विदेशै जान नपाउने हो,कि भन्ने चिन्ता छ ।

व्यवस्थापन भद्रगोल हुँदा सरकारप्रति युवा आक्रोशित छन् ।

खाडीका देशले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्रै मान्यता दिएका छन । खोप लगाएको प्रमाण पत्र नभएकालाई एयरलाइन्स कम्पनीले नै लैजान नचाहने र लगे पनि उता गएर क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ ।

सरकारले तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन भनेको भनेकै छ । तर सरकारी निकाय नै भीड जुटाउन व्यस्त देखिएका छन् । यसले सरकारी निकायले कसरी भद्रगोल तरिकाले काम गरिरहेका छन् भन्ने छर्लङ पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *