Main News

सवारीसाधनमा भाडा समायोजनको माग

हिमालय टिभी
२०७८ साउन ७ गते १५:०५
सवारीसाधनमा भाडा समायोजनको माग

७ साउन २०७८ काठमाडौं । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन् । व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सङ्घीय सरकारले भाडा समायोजन गरेकै आधारमा प्रदेश र स्थानीय तहले पनि समायोजन गर्नुपर्नेमा जोड दिनुभयो । यातायात व्यवस्था विभागले गत असार ३० गते दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने यात्रुबाहक सवारीसाधनमा २८ प्रतिशत, तराईमा चल्ने सवारीसानधमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक सवारीसाधनमा २६ प्रतिशतसम्म भाडा बढाएको थियो ।

विसं २०६५ मा पेट्रोलियम पदार्थ, सवारीसाधन र त्यसको पार्टपूर्जाका आधारमा सार्वजनिक सवारीसाधनको भाडा निर्धारणसहित मापदण्ड तय गरिएकोे थियो । सो मापदण्डअनुसार पेट्रोलियम पदार्थको मूल्यलाई ३५ प्रतिशत र पार्टपूर्जालाई ६५ प्रतिशत आधार बनाइएको थियो । सोही आधारमा वार्षिकरुपमा भाडा समायोजन गरिनुपर्नेमा झण्डै नौ वर्षदेखि हुन नसकेको यातायात व्यवसायीको गुनासो छ ।

संविधानअनुसार यातायात क्षेत्रको व्यवस्थापनको जिम्मेवारी तीन तहमै बाँडिएको छ । स्थानीय तहभित्र गुड्नेको स्थानीय तह, प्रदेशभित्र गुड्नको प्रदेश सरकार र एकभन्दा बढी प्रदेशमा गुड्नेकोे व्यवस्थापन र नियमनको जिम्मेवारी सङ्घीय सरकारको हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *