राजनीति

यस्तो छ एमाले नेपाल-खनाल समूहको अबको रणनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ६ गते २०:४७
यस्तो छ एमाले नेपाल-खनाल समूहको अबको रणनीति (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । नेकपा एमाले नेपाल खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एकतामा भाँजो हाल्ने काम भैरहेको भन्दै कडा आपत्ति जनाएको छ ।

स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालको पुतला जलाउने काम गरेर संस्थापन पक्षले एकतामा भाँजो हालेको नेपाल खनाल समूहको स्थायी कमिटीको ठहर छ । बैठकले पार्टी एकतामा जोड दिँदै नाराबाजी रोक्न र एकता प्रक्रिया अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गरेको छ ।

एमाले संस्थापन पक्ष केन्द्रीय कमिटी बैठकमा केन्द्रीत हुँदा नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठक बस्यो । दुवै पक्ष एकअर्का प्रति आक्रामक तर पर्ख र हेरको नीतिमा अघि बढिरहेका बेला नेपाल–खनाल पक्षको बैठकले एकतामा जोड दिएको छ । तर ओली पक्षले गरिरहेका गतिविधि एकता विरोधी भएको उसको ठहर छ ।

खासगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टिकरण र वरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध नाराबाजी भैरहेकोमा उसले आपत्ति जनाएको छ । तर पनि एकतामा जोड दिँदै स्पष्टिकरण र नाराबाजी रोक्न तथा एकता प्रक्रिया अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गरेको छ ।

पार्टी सदस्यबाटै निष्काशन गर्ने गरी २२ जना सांसदलाई स्पष्टिकरण सोध्नुको कुनै अर्थ नभएको नेपाल खनाल समूहको तर्क छ, किनकी यो अदालतको फैसला विरुद्ध छ । त्यसैले एकता वार्ता अघि बढाउँ, भाँजो हाल्ने काम नगरौं, हामी पनि त्यसो गर्दैनौं भन्ने नेपाल खनाल समूहको प्रस्ताव छ ।

स्पष्टिकरण गलत हो भन्ने मत वरिष्ठ नेता माधवकुमार नेपाल, उहाँलाई समर्थन गरेर देउवालाई भोट हाल्ने नेता सांसद मात्रै होइन, पछिल्लो पटक नेपालसित असन्तुष्टि जनाउँदै तटस्थ बसेका नेताको पनि छ ।

१० बुँदे सहमतिको स्वामित्व लिने तर एकताको वातावरण विगार्ने अध्यक्ष ओलीका कदमप्रति उनीहरुको पनि असन्तुष्टी छ । देउवालाई भोट नदिई तटस्थ बसेका एमाले सचिव गोकर्ण बिष्टको यो कुराले त्यही प्रष्ट पार्छ ।

देउवालाई भोट नदिएर तटस्थ बसेपछि ती नेताहरु ओलीतिर ढल्किएको भनेर चलिरहेको चर्चाको पनि आजको बैठकपछि खण्डन भएको छ । दुई तिर लागेको भनेर उनीहरुमाथि विभिन्न आरोप पनि लागेको छ । तर पार्टी एकताको लागि सबै काम गरेकोले आरोपको वेवास्ता गर्दै एकताकै लागि काम गर्ने एमाले सचिव बिष्ट बताउनुहुन्छ ।

नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल भने सहभागी हुनुभएन । वरिष्ठ नेता नेपाल रावललाई फकाउने प्रयासमा हुनुहुन्छ । र घरमै भेटन समेत पुग्नुभएको छ ।

एमालेका दुवै खेमा अहिले पर्ख र हेरको रणनीतिमा देखिन्छन, र सबैले एकताको नारालाई नै आड बनाएका छन । नेपाल खनाल समूहको पछिल्लो निर्णयले ओली खेमामा के प्रभाव पार्छ हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्