Main News

खोप केन्द्रमा विदेश जाने युवाको लर्को (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ५ गते २०:४४
खोप केन्द्रमा विदेश जाने युवाको लर्को (भिडियो रिपोर्टसहित)

५ साउन २०७८ काठमाडौं । बागमती र गण्डकी प्रदेशमा अहिले जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्य भइरहेको छ । यो खोप लगाउन विदेश जाने युवाको संख्या धेरै देखिएको छ ।

काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जोन्सन एण्ड जोन्सन खोप लगाउनेको चाप छ । मंगलबार अस्पतालमा त्यत्ति धेरै भिड थिएन । तर खोप लगाउन आउने जाने क्रम भने बाक्लै थियो । तर मंगलबार भिसा र पासपोर्ट देखाउँदै खोप लगाउने युवाको संख्या धेरै देखियो ।

प्रेमसिंह जस्तै विदेश जाने युवा अहिले धमाधम खोप लगाइरहेका छन् । यी युवाले खोप लगाएको कोरोनाबाट बच्नलाई मात्रै होइन, कमाएर आफ्नो परिवार बचाउन पनि हो । किनभने खोप लगाएर विदेश जान पाए, ऋण तिर्न र परिवार पाल्न सजिलो हुन्छ ।

महेन्द्र महतोलाई पनि नेपालमै बस्न मन थियो । तर घरको अवस्था सोचेजस्तो छैन । त्यसैले खोप लगाएर कुवेत जाँदै हुनुहुन्छ ।

घर खर्च चलाउन पैसा चाहिन्छ । तर सर्लाहीका २३ वर्षीय राजकुमार यादवको यहाँ कुनै जागिर छैन । खोप लगाएर तुरुन्तै विदेश जान पाए पैसा कमाएर विरामी परेको बेला सहजै उपचार गर्ने र गराउन पाउने आश छ ।

कोही पहिलो पटक विदेश जाने सोच राख्दै खोप लगाउन आइपुगेका छन् । कोही भने फेरि खाडी मुलुक जानु पर्ने भएकाले खोप लगाउन खोप केन्द्र पुगेका छन् ।

कोरोनाको यो कहरमा विदेश जानु रहर हैन, तर परिस्थितिले बाध्य बनाएको छ । भनिन्छ, देश युवाको हातमा छ । तर युवाको हातमा देश होइन, हरेक दिन विदेशको टिकट परिरहेको छ । त्यसैले देश बनाउने हो भने यो संकटमा पनि देश बाहिर जानुपर्ने बाध्यता अन्त गर्ने गरी सरकारले काम गर्नुपर्छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *