Main News

ओली सरकारले गरेका निर्णय धमाधम उल्ट्याउँदै नयाँ सरकार

हिमालय टिभी
२०७८ साउन ५ गते ८:०८
ओली सरकारले गरेका निर्णय धमाधम उल्ट्याउँदै नयाँ सरकार

५ साउन २०७८ काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारका पालामा भएका निर्णय उल्टाउन शुरु गरेको छ ।

यसै सन्दर्भमा विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस रद्द भएका हुन् ।

यस्तै सरकारले हालसम्म कोरोनाविरुद्धको खोप उपलब्ध गराउने देशहरूलाई धन्यवाद दिँदै थप खोप सहायताका लागि मित्रराष्ट्र र दातृनिकायलाई आह्वान गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, सरकारले भारतसँगको हवाई यातायातलाई सहज बनाउन हप्तामा थप हवाई उडानका लागि अनुमति दिने निर्णय पनि गरेको छ । विगतमा कोरोना संक्रमण बढेसँगै नेपालले भारतलगायतका अन्य मुलुकसँग हवाई उडान सेवा बन्द गरेको थियो ।

केही समयअघि भारतसँग हप्ताको दुईवटा उडानका लागि सरकारले अनुमति दिएको थियो भने अब हप्तामा छ वटा उडान गरिने बताइएको छ । यस्तै, बैठकले सिन्धुपाल्चोक र मनाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।

असोजसम्म सिन्धुपाल्चोक र मनाङलाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गर्दै प्राथमिकताका साथ काम गर्ने कार्कीले जानकारी दिनुभयो । जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका साथै राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिने प्रवक्ता कार्कीको भनाई छ ।

सरकारले इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा भोली साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *