Main News

कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि पनि प्रभावित हुँदै

हिमालय टिभी
२०७८ साउन ५ गते ७:५७
कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका फेरि पनि प्रभावित हुँदै

५ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित हुने भएको छ ।

कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै पूर्वनिर्धारित कार्यतालिकामा केही हेरफेर गर्दै एक सातादेखि १० दिनसम्म महाधिवेशन सार्ने तयारी गरेको हो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेपछि महाधिवेशन भदौभित्रै हुने तर केही दिन सार्ने तयारी गरिएको छ ।

विश्वासको मत नपाएको अवस्थामा देश निर्वाचनतर्फ जान सक्ने भएकाले महाधिवेशन ओझेलमा पर्न सक्ने भए पनि अब केही दिन पछि सारेर भदौभित्रै गर्ने सभापति देउवाको तयारी छ ।

गत शुक्रबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा समेत महाधिवेशनलाई विश्वासको मतसँगै जोडेर हेरिएको थियो । यस्तै, बैठकमा महाधिवेशन, क्रियाशील सदस्यता र समयावधिका विषयमा पनि छलफल भएको थियो ।

हाल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।

समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापति देउवालाई बुझाउने तयारी गरेको छ । कांग्रेसमा महाधिवेशनका लागि विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी करिब ९ लाख क्रियाशील सदस्य पुग्ने छानबिन समितिको दावी छ ।

कांग्रेसको निर्धारित तालिकाअनुसार साउन १२ देखि वडा अधिवेशन शुरु भइसक्नुपर्नेछ । केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कांग्रेसको निर्धारित तालिका हो । अब यी सबै तहका कार्यतालिका केही दिन पर सर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *