Main News

ओलीको योजना- माधव नेपालबाहेक अरुलाई फकाउने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते २०:५३
ओलीको योजना- माधव नेपालबाहेक अरुलाई फकाउने (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना पार्टीका सांसदलाई कारवाही प्रक्रिया अघि बढाएको छ । केन्द्रीय कमिटी बैठकले कारवाही गर्ने योजना अनुसार उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

एमाले संस्थापन वरिष्ठ नेता माधवकुमार नेपाललाई स्वीकार नगर्ने निष्कर्षमा पुगेको छ । तर नेपालबाहेक देउवालाई भोट दिने अरुलाई फकाएर पार्टीमा राख्ने उसको योजना देखिएको छ ।

नेकपा एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरु पार्टीमा नरहने घोषणा आईतवार नै घोषणा गरेको थियो । र, त्यसै अनुसार उसले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदमाथि कारवाही अघि बढाएको छ ।

यो प्रक्रिया छिटो टुंग्याउने एमालेको तयारी छ । त्यसैले पार्टीको निर्णयविपरीत देउवालाई भोट दिने २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

वरिष्ठ नेता नेपालसहित देउवालाई भोट दिनेमा अध्यक्ष केपी शर्मा ओली पक्षका पनि आठ जना छन् । तर पार्टी निर्णयविपरीत उनीहरुले जे गरे, त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने अक्षम्य अपराध भएको एमालेको ठहर छ ।

स्पष्टिकरण २२ जनालाई सोधिएपनि निशानमा माधवकुमार नेपाल देखिनुभएको छ । किनकी नेपाल पार्टीमा नफर्कने र फर्केपनि स्वीकार नगर्ने निष्कर्षमा ओली पक्ष पुगेको छ ।

त्यसैले २२ जना मध्ये नेपाल बाहेक अरु २१ जनालाई स्पष्टिकरण सोधेर फकाउने योजना छ । नेपाल खनाल समूहमा अन्तर्विरोध सिर्जना भएको र उपाध्यक्ष भीम रावलको सांसदबाट राजिनामा अनि ११ जना नेता सांसद देउवालाई भोट नदिएर तटस्थ बस्नु त्यसैको परिणाम भएको ओली पक्षको निष्कर्ष छ ।

माधवकुमार नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा घोषणा गर्नुभएको थियो । नेपाल खनाल समूहमा अब देउवालाई प्रधानमन्त्री बनाउने र कार्यदलको सहमति स्वीकार गर्ने नगर्ने विषयमा विवाद छ ।

नेपालले त सहमति मान्दिनँ नै भन्नुभएको छ । तर ओली पक्षले नेपाल खनाल पक्षको माग अनुसार २०७५ जेठ २ गतेको अवस्थामा फर्केको भन्दै सोमवारको बैठकलाई दशौं मात्रै भनेन, कार्यदलको सहमतिको पनि स्वामित्व ग्रहण गर्यो । जसको उद्देश्य नेपाल खनाल पक्षका अरु नेतालाई फकाउने र तान्ने नै देखिन्छ ।

एमालेको नेपाल खनाल समूह र उपाध्यक्ष वामदेव गौतमले समेत बहिस्कार गरेको यो बैठकले बनाएको योजनाले काम गर्छ कि गर्दैन हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *