राजनीति

एमाले कार्यकर्ताले कोटेश्वरमै जलाए माधव नेपालको पुत्ला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते २०:३०
एमाले कार्यकर्ताले कोटेश्वरमै जलाए माधव नेपालको पुत्ला (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका कार्यकर्ता वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोशित देखिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आक्रोशित भएका कार्यकर्ताले नेपालको पुत्लादहनदेखि विरोधमा चर्का नारावाजी गरेका छन् ।

यो नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्धमा एमालेकै कार्यकर्ताले निकालेको जुलुश । अनि यी आफ्ना नेताको पुत्ला जलाइरहेका एमालेका कार्यकर्ता ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेकपा एमालेको संस्थापन पक्षका नेताले नेपालको निवास कोटेश्वर नजिकै प्रदर्शन गरे । जुलुश निकाले र पुत्ला जलाए ।

दिँउसो नेपाल निवास छेउमा यो दृश्य देखिए पनि त्यसको शुरुवात भने बिहानै एमालेको केन्द्रीय कमिटी बैठकस्थल ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान परिसरमा भएको थियो ।

एमालेकै नेपाल–खनाल पक्ष र वामदेव गौतमले बहिस्कार गरेको बैठकमा संस्थापन पक्षका कार्यकर्ता प्ले कार्ड र ब्यानरसहित पुगे । उनीहरुले प्लेकार्डमा आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध यस्ता आपत्तिजनक नारा लेखेका थिए ।

सस्थापन पक्षका यी कार्यकर्ता बैठकमा जाने सबै नेतालाई हात जोडेरै माधव नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सबै २२ जनालाई कारवाही गर्न आग्रह गरिरहेका थिए । र एमालेका संस्थापन पक्षका नेताहरु माग जायज भएको भनेर आगोमा घ्यू थपिरहेका थिए । महासचिव इश्वर पोखरेल नै नेपालको विरोधमा आएका यी युवाका माग पूरा गर्ने आश्वासन दिइरहनु भएको थियो ।

महासचिवले युवालाई हौस्याएपछि ओली निकट भनेर चिनिएका गोकुल बाँस्कोटा पछि हट्ने कुरै थिएन । उहाँ पनि होमा हो मिलाउनुभयो ।

पार्टी एक बनाउन कम्मर कसेर लागेका नेतामध्येका एक शंकर पोखरेलले कार्यदल र दोस्रो तहका नेताको मेहनत बेकार भएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष ओलीका कार्यकर्ताको यो आक्रोश हेर्दा अब नेकपा एमाले एक हुने संभावना कम देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्