Main News

कोरोना खोप अभियान–नेपालमा ३ वटा कम्पनीको खोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ४ गते १४:४८
कोरोना खोप अभियान–नेपालमा ३ वटा कम्पनीको खोप (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सोही अनुरुप खोप अभियान जारी छ । नेपालमा अहिलेसम्म ३ वटा कम्पनीको खोप भित्रिएको छ । र नागरिकले ती खोप लगाइरहेका छन् । तर नागरिकमा कुन खोप राम्रो होला भन्ने प्रश्न उठेको छ ।

नेपालमा अहिलेसम्म भारतमा उत्पादित कोभिशिल्ड, चिनियाँ भेरोसेल र अमेरिकी जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा छ । अहिलेसम्म कोभिसिल्डको पहिलो मात्रा १८ लाख २८ हजारभन्दा बढी नागरिकले लगाएका छन् ।

ती मध्येका ४ लाख ६० हजारले दोश्रो डोज पनि लिएका छन् । तर पहिलो डोज लिएका झण्डै १४ लाख नागरिकले कोभिशिल्डको दोश्रो डोज पाएका छैनन् । भारतले पैसा लिएर पनि कोभिशिल्ड खोप दिएको छैन । जसले गर्दा अहिले यो खोप नेपालमा उपलब्ध छैन ।

चिनियाँ खोप भेरोसेल ११ लाखले लगाएका छन् भने करिब ७ लाखले दोस्रो मात्रा लगाइसकेका छन् । यस्तै सरकारले अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप लगाउने तयारी गरिरहेको छ । जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार डोज खोप नेपाल आइसकेको छ ।

चीनले भेरोसेल खोप पनि दिइरहेको छ । जापानले अष्ट्राजेनिका खोप दिने घोषणा गरेको छ । त्यसैले नागरिकमा कुन खोप लगाउँदा राम्रो होला भन्ने चासो बढेको छ । तर स्वास्थ्य मन्त्रालयले भने अहिले विश्वभर प्रयोग भइरहेको कोरोनाविरुद्धका खोप एकै खालको भएकाले यो लगाउने त्यो लगाउने भनेर रोजी छाडी नगर्न आग्रह गरेको छ । प्राथमिकतामा परेको आधारमा जुन खोप पाइन्छ त्यही खोप लगाउन मन्त्रालयको आग्रह छ ।

प्राथमिकतामा परेका भए पनि शारिरीक अस्वथता भएका व्यक्तिले भने खोप लगाउनु हुँदैन ।

कतिपयलाई खोप नलगाए देश बाहिर जान नपाइने हो कि भन्ने चिन्ता पनि हुने गरेको छ । तर अहिलेसम्म खोप कै कारण कुनै देश जान रोकतोक छैन । तर केही देशमा कोरोना नियन्त्रणको मापदण्ड फरक छ ।

त्यसैले नेपाल बाहिर जाँदा कुनै पनि देशको कोभिड नियन्त्रण मापदण्डको बारेमा जानकारी लिएर मात्रै जान पनि स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

नेपालमा अहिले चीन, जापान, भारत, अमेरिका लगायतका देशबाट खोप आएका छन् । अन्य देशबाट पनि खोप आउनेक्रम जारी छ । त्यसैले सबै खोप विश्वसनीय भएकाले खोप लगाउन आनाकानी नगर्न सरकारले नागरिकलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *