Main News

‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र, खोप केन्द्रमा प्रधानमन्त्री देउवा

हिमालय टिभी
२०७८ साउन ४ गते १४:१९
‘जोन्सन एण्ड जोन्सन’ का लागि २८ केन्द्र, खोप केन्द्रमा प्रधानमन्त्री देउवा

४ साउन २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजदेखि शुरु गरेको ‘जोन्सन एण्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ ।

आजदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ वर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यसअघि छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीलाई उक्त खोप दिइने व्यवस्था गरिएको छ ।

कामपाले यसपटक करीब ७६ हजार मात्रा खोप माग गरेको छ । सरकारले खोपका लागि तोकेका समूहको सङ्ख्यालाई २०६८ को जनगणना र जनसङ्ख्या वृद्धि दरका आधारमा विश्लेषण यो सङ्ख्यामा खोप मागेको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरको भनाइ छ ।

जोन्सन एण्ड जोन्सन खोप अमेरिकी सरकारबाट सहयोगस्वरुप प्राप्त भएको हो । खोप केन्द्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार स्त्री तथा प्रसूति रोग अस्पताल, काठमाडौँ मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, पिपल्स डेण्टल तथा जनरल अस्पताल सोह्रखुट्टे, हिमाल अस्पताल ज्ञानेश्वर, सामुदायिक स्वास्थ्यसेवा परिषद डल्लु, छत्रपाटी निःशुल्क चिकित्सालय छत्रपाटी र जनमैत्री अस्पताल बालाजुमा तोकिएको छ ।

त्यसैगरी मनमोहन अस्पताल स्वयम्भू, काठमाडौँ मोडल अस्पताल प्रदर्शनी मार्ग, ह्याम्स हस्पिटल एण्ड रिसर्च सेन्टर धुम्बाराही, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, नेशनल हस्पिटल कलङ्की, रामघाट प्राथमिक स्वास्थ्य केन्द्र गौशाला, कान्तिपुर अस्पताल तीनकुने, राधास्वामी आइसोलेशन सेन्टर बसुन्धरा र जनकल्याण माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ ।

नरदेवी आयुर्वेद अस्पताल नरदेवी, महेन्द्रनारायणनिधि अस्पताल बसुन्धरा, नेपाल भारत मैत्री अस्पताल चावहिल, मेट्रो अस्पताल नारायण गोपाल चोक, इरा इन्टरनेशनल अस्पताल सोह्रखुट्टे र हेल्पिङ् ह्याण्ड्स अस्पताल चावहिलमा केन्द्र रहेको छ । कामपाले हालसम्म सात प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएको छ भने १६ प्रतिशत नागरिकले एक मात्रा मात्र खोप लगाएका छन् ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गर्नुभएको हो ।

केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गर्नुभएको हो । उहाँसँगै नेपालस्थित अमेरिकाका राजदूत -याण्डी बेरी पनि हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा जागेश्वर गौतमले लगायतले अस्पतालका बारेमा जानकारी गराउनुभएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक डा गौतमले आज एक हजार जनालाई खोप प्रदान गर्ने बताउनुभयो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोपको एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा झलक शर्मा गौतमले आजदेखि काठमाडाँै उपत्यका, काभ्रे र गण्डकी प्रदेशका केही जिल्लामा उक्त खोप लगाउन थालिएको जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइने छ । उहाँले खोपलाई चाँडै नै देशभर पु¥याउने बताउनुभयो ।

नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । मुलुकमा अहिलेसम्म २९ लाख ९९ हजार २१४ पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ दोस्रो मात्रा खोप लगाइसकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *