नेपाल-खनाल समूहमा चर्को विवाद (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयलाई लिएर नेकपा एमालेको नेपाल–खनाल समूहमा उथल पुथल भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना गर्न अहम भूमिका खेलेको नेकपा एमालेको नेपाल–खनाल समूहमा चर्को विवाद देखिएको छ ।
देउवालाई भोट हाल्ने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताको कदममा केही नेताले खुलेरै असन्तुष्टि जनाएका छन । उपाध्यक्ष भीम रावलले त राजिनामा नै दिनुभएको छ ।
रावलको राजीनामा रोक्ने नेताहरुको प्रयासनै असफल भयो । नेता सुरेन्द्र पाण्डेले संसद भवनमा रावललाई रोक्न गरेको प्रयासमा रावलको आक्रोशपूर्ण प्रतिक्रियाले समस्या कुन हदसम्म बल्झिएको छ भन्ने प्रष्ट पार्छ ।
पहिले अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रामक देखिएका रावलले यसपटक वरिष्ठ नेता नेपालमाथि पनि आक्रोश पोख्नुभयो । नेपालको नामै नलिए पनि रावलले ओलीमा जस्तै नेपालमा पनि व्यक्तिगत स्वार्थ र अनैतिक व्यवहार देखिएको टिप्पणी गर्नुभयो ।
देउवालाई प्रधानमन्त्री बनाउने भूमिकामा रावलको पनि अहम भूमिका थियो । तर एकाएक उहाँमा आक्रोश देखिएको छ ।पछिल्लो पटक नेपाल पनि एकताप्रति सकारात्मक नदेखिएको रावलको गुनासो रहेको बुझिएको छ ।
वरिष्ठ नेता नेपालसितको सरसल्लाहमा केही सांसद देउवालाई भोट हाल्न प्रतिवद्ध भए र संसद गए । तर त्यहीँ भित्र छलफल भएन यो व्यक्तिगत हो भन्नेसम्मको असुन्तष्टि देखिएको छ ।
यतिमात्रै होइन, एकाएक आईतवार विश्वासको मत लिने प्रस्ताव र निर्णय कसरी आयो भनेर नेताहरुले वरिष्ठ माधवकुमार नेपाललाई सोधे, त्यसमा नेपालले कुनै प्रतिक्रिया दिनु भएन । तर एकाएक विश्वासको मत लिने प्रस्तावले नेपाल निकट नेताहरुले नै गम्भीर षडयन्त्र भनेका छन र त्यसको दोष प्रधानमन्त्री शेरबहादुर देउवालाइ दिएका छन । एमाले फूटाउन प्रधानमन्त्री देउवाले षडयन्त्र गरेको उनीहरुको आरोप छ ।
नेपाल खनाल समूहले देखेको यो षडयन्त्रमा आफ्नै खेमाका माउ नेताको भूमिका छ कि छैन, त्यो पनि उनीहरुले ढिलो चाँडो खोज्नेछन, किनकी एकाएक विश्वासको मत लिने निर्णय प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचकै सल्लाहमा भएको मानिएको छ । तर जे भए पनि नेपाल खनाल समूहमा किचलो देखिएको छ र यो थप कसरी प्रकट हुन्छ हेर्न बाँकी छ ।
प्रतिक्रिया