Main News

जसपा आधिकारिकता विवाद निर्वाचन आयोगले आज टुंगो लगाउँदै

हिमालय टिभी
२०७८ साउन ३ गते १३:२०

३ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो लगाउन अहिले निर्वाचन आयोगको इजलास बसिरहेको छ ।

आयोगले दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गरिरहेको हो । पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ भएको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्‌।

आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरिएको छ।

जसपाको विवाद पेचिलो बन्दै जाँदा आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो। इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा हुनुहुन्छ ।

यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाएपनि उनीहरू राजी नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको हो। आयोगले छिट्टै नै विवाद निरूपण गर्ने तयारी थालेको छ।

पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ। इजलासमा दुवै पक्षको बहस सकिएपछि निर्वाचन आयोगले निर्णय सुनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *