Main News

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजैको बैठकबाट विश्वासको मत लिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ३ गते १२:५५
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको आजैको बैठकबाट विश्वासको मत लिने (भिडियो रिपोर्टसहित)

३ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आजै विश्वासको मत लिनु हुने भएको छ ।

विश्वासको मत लिने प्रस्ताव कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुखमार्फत संसद्‌ सचिवालयमा दर्ता गराउनु भएको छ । संसदको आजै शुरु हुने अधिवेशनको पहिलो दिन बस्ने दोश्रो बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा १ सय ४९ जना सांसदले हस्ताक्षर पेश गरेका थिए भने सर्वोच्च अदालतमा दायर भएको रिटमा १ सय ४६ जना सांसदले हस्ताक्षर बुझाएका थिए।

गएको असार २८ गते सर्वोच्चको आदेशबाट संसद पुनःस्थापना भइ सोही आदेश अनुसार देउवाले असार २९ गते प्रधानमन्त्रीको शपथ लिनु भएको थियो ।

संवैधानिक व्यवस्था अनुसार देउवाले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनेका देउवालाई विश्वासको मतका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ।

एमालेको माधवकुमार नेपाल समूह बाहेक देउवासँग कांग्रेसका ६१, माओवादीका सभामुखबाहेक ४८, जसपाका १२ र जनमोर्चाका १ गरी १ सय २२ जना सांसदको साथ प्रष्ट छ। त्यसमा जसपाको उपेन्द्र यादव समूहमा ५ जना सांसद थपिएका छन् ।

यो हिसावले देउवाको समर्थनमा माधवकुमार नेपाल समूह बाहेकका १ सय २८ सांसदको समर्थन जुट्छ। अपुग मत नेपाल समूहबाट आउने पक्का भएपछि देउवाले आजै विश्वासको मत लिने निर्णय गर्नु भएको हो ।

धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि सांसदहरु स्वतन्त्र हुने भएकाले दलीय ह्वीप नलाग्ने व्याख्या सर्वोच्चले गरिसकेको छ। मतदानकै आधारमा सांसदहरुलाई कारबाही गर्न नमिल्ने पनि सर्वोच्चको फैसलामा उल्लेख छ। दिउँसो ४ बजे बस्ने पहिलो बैठकमा संसद अधिवेशन सम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने छ।

त्यसपछि दलका तर्फबाट नेताहरुले बोल्न चाहेमा समय दिइने छ । त्यसपछि पहिलो बैठक सकिने र लगत्तै दोस्रो बैठक सुरु हुने छ। दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

विश्वासको मत प्राप्त भएमा देउवा नेतृत्वको सरकारले डेढ वर्षभन्दा बढी सरकार चलाउने छ र चुनाव गर्नेछ। विश्वासको मत नपाएमा संसद विघटन भइ देउवा नेतृत्वको चुनावी सरकारले ६ महिना भित्र चुनाव गराउनु पर्ने संवैधानिक जिम्मेवारी पाउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *