Main News

सर्वोच्चको आदेशानुसार सङ्घीय संसदको अधिवेशन शुरु हुँदै

हिमालय टिभी
२०७८ साउन ३ गते ७:२९
सर्वोच्चको आदेशानुसार सङ्घीय संसदको अधिवेशन शुरु हुँदै

३ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आज शुरु हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गर्नु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताउनु भएको छ ।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ।

यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ। कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेका बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।

संसद बैठकका विषयमा छलफल गर्न दलहरुले आआफ्ना संसदीय दलको बैठक बोलाएका छन । नेपाली कांग्रेसले दिउँसो ३ बजे र माओवादी केन्द्रले बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका छन् ।

नेकपा एमालेले शुक्रबार नै संसदीय दलको बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो । झण्डै ३ वर्ष पाँच महिना सत्ता पक्षमा रहेका एमाले सांसद प्रतिपक्षमा रहनेछन् ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान र मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनु हुनेछ ।

यस्तै, सभामुख सापकोटाले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र यो अवधिमा भएका पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *