Main News

पार्टी एकता जोगाउन एमालेका दोस्रो तहका नेताबीच छलफल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते १६:१९
पार्टी एकता जोगाउन एमालेका दोस्रो तहका नेताबीच छलफल (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ काठमाडौं । एमाले संस्थापन पक्षले हिजो कार्यदल भंग गरे पनि दोस्रो तहका नेताबीच पार्टी एकताको प्रयास भइरहेको छ । यसैक्रममा कार्यदलमा रहेका नेतासहितको बैठक आज बसेको छ ।

बिहान सिंहदरबारमा बसेको बैठकले दश बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता कायम गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गर्ने सहमति गरेको छ ।

शीर्ष तहमा वार्ता र संवाद नभए एकता कठिन हुने भन्दै कार्यदल सदस्यले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुनुपर्ने बताएका छन् । नेपाल पक्षका तर्फबाट कार्यदल सदस्य गोकर्ण विष्टले आफूहरु सहमति कार्यान्वयनका लागि छलफलमा रहेको बताउनुभयो ।

आम नेता तथा कार्यकर्ताको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन प्रयत्न भइरहेको नेता विष्टले बताउनुभयो ।

एमालेमा आन्तरिक एकताका लागि दोस्रो तहका नेताहरु फेरि सक्रिय भए पनि अध्यक्ष ओली भने नेता नेपाललाई सहमतिमा ल्याउने पक्षमा हुनुहुन्न ।

ओली पक्षबाट कार्यदल संयोजक समेत रहेका सुवासचन्द्र नेम्वाङले सहमति कार्यान्वयनका लागि अध्यक्ष ओली र नेता नेपालबीच तत्काल वार्ता हुनुपर्ने बताउनुभयो ।

कार्यदलका नेताबीचको छलफलमा नेताहरु पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराई पनि सहभागि हुनुभएको थियो । एमाले स्थायी कमिटीको बैठकले दश सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गरेको थियो ।

नेपाल पक्षको सहयोगले शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र संकट बढेको छ ।

एमाले संस्थापनले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल खनाल समूहले विश्वासको मत दिएर संसद जोगाउने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *