Main News

संक्रमण अपेक्षाकृत रुपमा नघट्दा विज्ञ र सरकारी अधिकारी चिन्तित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन २ गते १४:१६
संक्रमण अपेक्षाकृत रुपमा नघट्दा विज्ञ र सरकारी अधिकारी चिन्तित (भिडियो रिपोर्टसहित)

२ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलिएको दुई वर्ष पुग्न लागेको छ । यो अवधिमा सरकारले संक्रमण रोक्न लकडाउन र निषेधाज्ञा लगायो । तर पछिल्लो पटक संक्रमण अपेक्षाकृत रुपमा घट्न सकेको छैन । यसले विज्ञ र सरकारी अधिकारीसमेत चिन्तित छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले पनि कोभिड वार्डमा ३५ जना संक्रमित छन् । आइसियूमा २२ जना र भेन्टिलेटरमा २१ जना छन् । यो क्रम विस्तारै बढिरहेको छ । दुई महिनासम्म लकडाउन गर्दा कोरोना संक्रमण घट्नु पर्ने हो । तर अहिलेपनि दैनिक तीन हजार हाराहारीमा दैनिक संक्रमित भेटिन थालेका छन् ।

मृत्युदर पनि सन्तोषजनक रुपमा घटेको छैन । अस्पतालमा अहिले संक्रमितको उपचारका लागि बेड नै नपाउने अवस्था त छैन । तर महिनौं लकडाउन गर्दा पनि संक्रमण घट्यो भनेर ढुक्क हुने अवस्था नआएको सरकारी अधिकारी बताउँछन् ।

विश्वस्वास्थ्य संगठनका अनुसार संक्रमण दर ५ प्रतिशतभन्दा कम भएमा बल्ल ढुक्क हुन सकिन्छ । तर नेपालमा अहिले पनि संक्रमण दर २० प्रतिशतको हाराहारीमा छ । संक्रमण दर घट्न नसक्नुलाई विज्ञले भने अहिले भैरहेका गतिविधीलाई नै मुख्य कारक मानेका छन् ।

कोरोनाका कारण भैरहेको मृत्यु र संक्रमणलाई सरकारले गम्भिरतापूर्वक नलिने, परीक्षण, ट्रेसिङमा ध्यान नदिँदा पनि यो अवस्था आएको हो । लकडाउनपछि पनि संक्रमण बढ्नुले गतिलो संकेत नगरेको विज्ञ बताउँछन् ।

अहिले सरकारको नेतृत्व परिवर्तन भएको छ । त्यसैले कोरोना महामारी नियन्त्रण गर्न योजनावद्ध तरिकाले लाग्नुको विकल्प छैन । तेस्रो लहर आउनबाट रोक्ने हो भने अब सरकारको मुख्य प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छ भने नागरिकले पनि स्वास्थ्य मापदण्ड पालनामा ध्यान पुर्‍याउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *