Main News

सहमति कार्यान्वयन गरेर पार्टी एकता जोगाउन अध्यक्ष ओली र नेता नेपाललाई एमाले कार्यदलको आग्रह

हिमालय टिभी
२०७८ साउन २ गते १३:०५
सहमति कार्यान्वयन गरेर पार्टी एकता जोगाउन अध्यक्ष ओली र नेता नेपाललाई एमाले कार्यदलको आग्रह

२ साउन २०७८ काठमाडौं । दश बुँदे सहमति कार्यान्वयन गरेर पार्टी एकता कायम गर्न नेकपा एमाले एकता कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गर्ने भएको छ ।

आज बिहान सिंहदरबारमा बसेको कार्यदल बैठकले सहमतिका दश बुँदा अक्षरसः कार्यान्वयन गरिनुपर्नेमा जोड दिएको हो । अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षीय नेताहरु हालै पार्टी समस्या समाधान कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा एक भएका हुन् ।

शीर्ष तहमा वार्ता र संवाद नभए एकता कठिन हुने भन्दै कार्यदल सदस्यहरुले अध्यक्ष ओली र नेता नेपालबीच वार्ता हुनुपर्ने बताएका छन् ।

नेपाल पक्षका तर्फबाट कार्यदल सदस्य गोकर्ण विष्टले आफूहरु सहमति कार्यान्वयनका लागि छलफलमा रहेको बताउनुभयो । आम नेता तथा कार्यकर्ताको चाहना अनुसार पार्टीलाई एक ढिक्का बनाउन प्रयत्न भइरहेको नेता विष्टले बताउनुभयो ।

ओली पक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले सहमति कार्यान्वयनका लागि अध्यक्ष ओली र नेता नेपालबीच तत्काल वार्ता हुनुपर्ने बताउनुभयो । एमालेमा आन्तरिक एकताका लागि दोस्रो तहका नेताहरु फेरि सक्रिय भए पनि अध्यक्ष ओली भने नेता नेपाललाई सहमतिमा ल्याउने पक्षमा हुनुहुन्न ।

हिजो मात्रै विघटित एकता कार्यदलका नेताहरुबीचको छलफलमा एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराई पनि सहभागी हुनुभएको थियो । एमाले स्थायी कमिटीको बैठकले दश सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गर्दै वार्ता टोली विघटन गरेको थियो ।

नेपाल पक्षको सहयोगले शेरबहादुर देउवाको सरकार बनेर एमालेको सरकार ढलेपछि पार्टीभित्र थप संकट बढेको छ ।

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने वरिष्ठ नेता माधव नेपालले विश्वासको मत दिएर संसद जोगाउने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *