राजनीति

ओलीले बैठक रोक्न किन मानेनन् ? नेपाल समूहद्वारा बैठक बहिस्कार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १ गते २०:४४
ओलीले बैठक रोक्न किन मानेनन् ? नेपाल समूहद्वारा बैठक बहिस्कार (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । नेकपा एमालेभित्रको विवाद थप पेचिलो भएको छ । आवरणमा एकताको नारा भएपनि गतिविधि फुटतिरै केन्द्रीत देखिएका छन् । ओली पक्षले आफ्नो योजना अनुसार स्थायी कमिटी र संसदीय दलको बैठक बसेर अब नपर्खिने संकेत गरेको छ ।

नेपाल–खनाल पक्षले पनि यथास्थितिमा कुनै बैठकमा उपस्थित नहुने अडान दोहोर्याएको छ । आज स्थायी कमिटी बैठकमै गएर नेपाल खनाल पक्षले बैठक रोक्न प्रयास गरेपनि अध्यक्ष केपी शर्मा ओली तयार हुनुभएन । त्यसपछि नेपाल खनाल पक्षले बैठक बहिष्कार गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजेका लागि स्थायी कमिटी र तीन बजेका लागि संसदीय दलको बैठक बोलाउनुभएको थियो । त्यसका लागि एमालेको नेपाल–खनाल पक्षका नेता र सांसदलाई पनि खबर गरिएको थियो ।

त्यसो त बैठक रोक्न ओलीमाथि आफ्नै समूहका दोस्रो तहका नेता र नेपाल खनाल पक्षबाट दबाब नपरेको होईन, तर ओलीले मान्नुभएन । र, बिहान ११ बजे स्थायी कमिटी बैठक शुरु भयो । बैठक नरोकिएपछि नेपाल–खनाल समूहका नेता भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक रोक्ने प्रस्ताव लिएर बैठकस्थल ललितपुर पुगे ।

तर बैठकमा गएका नेतालाइ भित्र छिर्न र आफ्ना कुरा राख्न पनि एकछिन बहस गर्नुपर्यो ।

नेपाल–खनाल पक्षका तर्फबाट रावलले बैठक किन रोक्ने भनेर तर्क पनि राख्नुभयो । रावलका अनुसार सबै कुरा पार्टी एकतालाई केन्द्रमा राखेर गरिएको थियो ।

रावलका कुरा अध्यक्ष ओलीले सुन्नु त भयो तर खासै प्रतिक्रिया जनाउनुभएन, बरु रावलले बोलेर सकेपछि बैठक रोकिँदैन अघि बढ्छ भनेर जवाफ दिनुभयो ।

निकै अनुनय विनय र आग्रह गरेपनि ओलीले बैठक रोक्न नमानेको त्यसै होइन, किनकी नेपाल–खनाल पक्षमाथि अब ओलीको विश्वास छैन । त्यसैले अब उहाँ नेपाल–खनाललाई पर्खिने पक्षमा हुनुहुन्न ।

त्यसै अनुसार स्थायी कमिटीको बैठक बसेको संस्थापन पक्षले संसदीय दलको बैठक पनि राख्यो । र, आफ्नाविरुद्ध आएको फैसलाविरुद्ध भण्डाफोर गर्ने निर्णय गर्यो । जुन, नेपाल,खनाल पक्षको चाहना र योजनाविपरीत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्