राजनीति

माधव नेपाललाई ठाउँ नभएको ओलीको घोषणापछि एमाले के होला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३० गते २०:५४
माधव नेपाललाई ठाउँ नभएको ओलीको घोषणापछि एमाले के होला ? (भिडियो रिपोर्टसहित)

३० असार २०७८ काठमाडौं । सर्वोच्च अदालतको फैसलाले पार्टी सरकारबाहिर पुगेपछि नेकपा एमालेको विवाद मिल्ने भन्दा झन् बल्झने संकेत देखिएको छ ।

आफ्नो नेतृत्वमा रहेको सरकार विस्थापन गर्न माधवकुमार नेपालले खेलेको भूमिकाप्रति अध्यक्ष केपी शर्मा ओली कठोर बन्ने संकेत गर्नुभएको छ । निजी निवास बालकोट ओलीले नेपाललाई गद्दार भन्दै पार्टीमा कुनै ठाउँ नभएको घोषणा समेत गर्नुभयो ।

पार्टी विवाद मिलाउन गठित कार्यदलले असार २७ गते राति १० बुँदे सहमति गर्दै एमाले विवाद अन्त्य भएको घोषणा गरेको थियो । दुवै नेताले प्रतिवेदनबारे औपचारिक धारणा व्यक्त गरेका छैनन् । तर बालुवाटारबाट बालकोट पुगेपछि ओलीले वरिष्ठ नेता नेपालप्रति आक्रामक अभिव्यक्ति दिनुभयो ।

यसले परिस्थिति बदलिएको मात्रै होइन ओली पक्षले सम्झौताको औचित्य सकिएको संकेत गरेको छ । अध्यक्ष ओलीले नेपाललाई नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको घोषणा गर्नुभयो । त्यति मात्रै होईन, ओलीले नेपाललाई गद्दार समेत भन्न भ्याउनुभयो ।

ओलीले एमालेको सरकार गुम्ने अवस्था निर्माण गर्ने र विकास प्रेमी सरकार ढाल्ने कामको अगुवाइ माधवकुमार नेपालले गरेको आरोप लगाउनुभयो । नेपालमाथि ओलीले बिकाउ भएको आरोप लगाउनुभयो । ओलीले भनिरहँदा कार्यकर्ताले नेपाललाई पार्टीबाट निस्कासन गर्नुपर्ने कालो मोसो लगाउने भन्दै हुटिङ गरिरहेका थिए ।

ओली नेपालको पछि लाग्ने नेता कार्यकर्ताप्रति नेपाल भन्दा त नरम हुनुहुन्छ, तर पहिले कारवाही फुकुवा गरेपनि अब उनीहरुले माफी मागे मात्रै पार्टीमा ठाउँ रहेको बताउनुभयो ।

युवा संघका कार्यकर्ताले बालुवाटारदेखि बालकोटसम्म नेता नेपालविरुद्ध चर्का नाराबाजी मात्र गरेनन्, नेपाल निवासनजिक कोटेश्वरमा पुत्ला समेत जलाए । ओली र उहाँका कार्यकर्तामा माधव नेपालविरुद्ध आक्रोश चुलिएको छ ।

सडकको नारादेखि सामाजिक सञ्जालसम्म माधवकुमार नेपाल तारो बन्नुभएको छ । त्यसैले ओलीको अभिव्यक्ति र कार्यकर्ताको व्यवहारले एमाले विवाद अब सुल्झिने होईन, थप बल्झिने प्रष्ट देखिन्छ । र, संभवतः यी फुटको नयाँ रिहर्सल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *