राजनीति

चुनौतिको चाङमाथि शेरबहादुरको पाँचौ इनिङ्स (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २९ गते २०:२२
चुनौतिको चाङमाथि शेरबहादुरको पाँचौ इनिङ्स (भिडियो रिपोर्टसहित)

२९ असार २०७८ काठमाडौं । प्रधानमन्त्रीका रुपमा पाँचौ पटक सत्ताको बागडोर सम्हालेका शेरबहादुर देउवाको अगाडीको बाटो सजिलो भने छैन । उहाँलाई सहयात्री गठबन्धनका दललाई मिलाएर विश्वासको मत लिनुपर्ने चुनौति छ । यस्तै महाधिवेशनको तयारीमा रहेको पार्टीमा एकता कायम गर्नुपर्ने जिम्मेवारी पनि उहाँमा छ ।

प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवाको पाँचौ इनिङ्स शुरु भएको छ । विगतमा भन्दा यसपटक प्रधानमन्त्री देउवाका सामू धेरै चुनौति छन् । किनकी उहाँलाई समर्थन गर्ने संसदीय अंकगणित कमजोर धरातलमा उभिएको छ ।

एमालेमा एकता प्रक्रिया अघि बढ्दा देउवा सुरुवातमै अल्पमतमा परेको भनेर पनि चर्चा भइरहेको छ । एक महिनाभित्र विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यताका बीच देउवाको सत्ता कति लामो समयसम्म चल्छ भनेर एकिन गर्न गाह्रो छ ।

यदि एमाले एकढिक्का भयो र देउवाको विपक्षमा उभियो भने यो सरकार एक महिनामै चुनाव घोषणा गर्नुपर्ने अवस्थामा पुग्नेछ । हुनत यो अवस्थामा पनि देउवालाई घाटा भने हुनेछैन । किनकी आफै चुनाव गराउने उहाँको चाहना पुरा हुनेछ । एमालेमा सहमति भएन र अहिलेकै अवस्था कायम रह्यो भने देउवाले विश्वासको मत पाउनुहुनेछ ।

त्यस्तो अवस्थामा देउवाले पुरै कार्यकाल सत्ताको नेतृत्व गर्न पाउनुहुनेछ । प्रधानमन्त्री देउवाका लागि तत्कालको चुनौति नयाँ सत्ता समिकरणमा सहयात्री दलबीच सहमति कायम गर्नु हुनेछ । गठबन्धन सरकार बनेकाले मन्त्रालय भागवण्डा मिलाएर सबै दललाई साथमा हिडाउनुपर्ने उहाँलाई बाध्यता छ ।
देउवा र सत्ता सधै नजिक छन् ।

नचाहँदा नचाहदै पनि सत्ता देउवाको वरिपरि घुम्ने गरेको छ । अहिले पनि सुरुवातमा देउवा प्रधानमन्त्री बन्न अनिच्छुक हुनुहुन्थ्यो । तर केपी शर्मा ओलीका असंवैधानिक गतिविधि र अन्य दलको दबाबमा देउवा सत्ताको नेतृत्वका लागि अग्रसर हुनुभयो । अहिले सफल पनि हुनुभएको छ ।

विक्रम संवत २०४८ सालमा गृहमन्त्रीबाट शुरु भएको देउवाको सत्ता यात्रा निरन्तर जारी छ । उहाँ पहिलोपटक २०५२ साल भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री हुनुभयो । त्यसपछि उहाँ २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री हुनुभयो ।

सोही वर्ष असोज १८ मा उहाँलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गर्नुभएको थियो । देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बन्नुभयो । तर तत्कालिन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्नुभएको थियो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई अब पार्टीभित्र सन्तुलन कायम गर्नुपर्ने चुनौति पनि छ । पार्टीको महाधिवेशन नजिकिदै गर्दा भएको सत्तारोहणले देउवालाई शक्ति दिएको हुनुपर्छ । तर सरकार गठनदेखि पार्टीभित्र भागवण्डा मिलाउन सक्नुभएन भने उहाँको यो शक्ति प्रत्युद्पादक पनि बन्न सक्छ ।

प्रधानमन्त्रीका रुपमा देउवाको इतिहास उति सुखद छैन । उहाँमा मुलुकलाई समृद्धिको मार्गमा डोर्‍याउने भिजनरी क्षमता पनि नभएको आरोप लाग्ने गरेको छ । यस्तै आफु निकटलाई मात्रै काखि च्याप्ने गरेको भन्दै पार्टीभित्र आलोचना हुने गरेको छ ।

तर विगतका अनुभवबाट पाठ सिकेर गतिलोसँग शासन सत्ता सम्हाल्न सके उहाँलाई फेरि एउटा मौका भने आएको छ । उहाँले यो मौकाको सदुपयोग गर्न सक्नुहुन्छ वा हुँदैन त्यो भने भविष्यले देखाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्