Main News

जापानले कोभ्याक्समार्फत नेपाललाई १६ लाख डोज खोप दिने

हिमालय टिभी
२०७८ असार २९ गते १५:१६
जापानले कोभ्याक्समार्फत नेपाललाई १६ लाख डोज खोप दिने

२९ असार २०७८ काठमाडौं । जापानले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज अस्ट्राजेनिकाको खोप प्राप्त हुने बताएको हो । यसअघि जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले नेपाललगायत एसियाली मुलुकलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

त्यसै मध्येबाट १६ लाख डोज नेपालले पाउन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकले पनि लगाउन मिल्नेछ । जापानी दूतावासका अनुसार उक्त खोप नेपालले जुलाईको मध्यदेखि एक महिनाको बीचमा प्राप्त गर्नेछ ।

यद्यपि खोप आउने तालिका भने अन्तर्राष्ट्रिय संगठनसँगको खरीद सम्झौता पूरा भएपछि मात्र सार्वजनिक गरिने दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि जापानी राजदूत युटाका किकुटाले खोप अनुदानमा दिने निर्णयले नेपाल र जापानको लामो समयदेखिको मैत्री सम्बन्ध झल्किएको बताउनुभएको छ ।

दूतावासले यो खोप जापानबाट ल्याउने र नेपालमा वितरण गर्ने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ । यसले नेपालले भारतबाट खरिद गरेको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन नपाएका नागरिकका लागी सहज हुनेछ ।

खोपको पर्खाइमा रहेका अन्य युवाका लागि जापानले दिन लागेको खोप निकै महत्वपूर्ण हुने राजदूत किकुटाले बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *