राष्ट्रपतिबाट देउवा प्रधानमन्त्री नियुक्त, साँझ ६ बजे शपथ
२९ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
सर्वोच्च अदालतको आदेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । हिजो सर्वोच्च अदालतले आज बेलुकी ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
त्यसै अनुसार राष्ट्रपतिले आज देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । अदालतको आदेशमा प्रधानमन्त्री नियुक्त भएको नेपालको इतिहासमै पहिलो पटक हो ।
नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ ग्रहण बेलुकी ६ बजे हुने अधिकारीले जानकारी दिनुभयो । देउवा पहिलो पटक २०५२ साल, दोस्रो पटक ०५८ साल, तेस्रो पटक ०६२ साल र चौथो पटक ०७४ सालमा प्रधानमन्त्री बन्नुभएको थियो ।
देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बन्नुभएको छ । देउवाले अब तीस दिन भित्र विश्वासको मत लिनुपर्नेछ ।
विश्वासको मत लिन सके देउवा यो संसदको पूर्ण कार्यकाल प्रधानमन्त्री बन्नुहुनेछ भने विश्वासको मत हासिल नगरे संसद विघटन भएर देश मध्यावधि निर्वाचनमा जानेछ ।
प्रतिक्रिया