राजनीति

राष्ट्रियसभामा ९३ मिनेटमध्ये ४८ मिनेटसम्म सरकारको विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २७ गते २०:४९
राष्ट्रियसभामा ९३ मिनेटमध्ये  ४८ मिनेटसम्म सरकारको विरोध (भिडियो रिपोर्टसहित)

२७ असार २०७८ काठमाडौं । संसदको माथिल्लो सदन राष्ट्रिय सभामा आज पनि सरकारको काम कारबाहीको विरोध भएको छ । असार १७ गते राष्ट्रिय सभाको पहिलो बैठकदेखि शुरु भएको सरकारको विरोध गर्ने सिलसिला आज पनि कायम रह्यो ।

आजको बैठकमा १३ जना सांसदलाई ९३ मिनेट समय दिइएको थियो । त्यसमध्ये ४८ मिनेट उनीहरुले सरकारको विरोधमा खर्चिएका छन् ।

सरकारले राष्ट्रिय सभालाई विजनेश दिन सकेको छैन । जसले गर्दा बैठकमा विशेष समयको समयावधि बढिरहेको छ । सांसदहरुले त्यो समयमा सरकारको विरोध गरिरहेका छन् ।

आजको बैठकको अधिकांश समय पनि सरकारको विरोधमा बितेको छ । सांसद तारामान स्वाँरले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यात्ने काम गरेको आरोप लगाउनुभयो ।

सांसद प्रमिला कुमारीले प्रधानमन्त्री ओलीले संविधानको अपव्याख्या गरेर भ्रमपूर्ण र चेतावनीयुक्त शैलीमा अदालतलाई दबाव दिने कोसिस गरेको आरोप लगाउनुभयो ।

राष्ट्रपतिको निर्णय अदालतले बदर गर्न मिल्दैन भन्ने भनाई बालुवाटार र शीतल निवासबाट निरन्तर सार्वजनिक भइरहनु खेदजनक रहेको उहाँले बताउनुभयो ।

गंगाकुमारी बेलबासेले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अशान्तिमा लगेको आरोप लगाउनुभयो । देशको सुशासन र समृद्धिको सम्बन्धमा थुप्रै प्रश्न खडा भएको पनि उहाँले बताउनुभयो ।

प्रकाश पन्तले कम्युनिष्टहरुको नाटक र नौटंकीले मुलुक बन्धक बनेको आरोप लगाउनुभयो ।

बिना पोखरेलले जनप्रतिनिधिको संस्था विघटन गरी जनादेशको कुरा गर्न नमिल्ने बताउनुभयो ।

अधिकांश सांसदले सरकारको विरोध गरेपछि राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले यो अधिवेशन राजनीतिक आरोप प्रत्यारोपमा केन्द्रीत भएको गुनासो गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्