एमाले कार्यदलको बैठकमा आज पनि जुटेन सहमति (भिडियो रिपोर्टसहित)
२६ असार २०७८ काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन कार्यदलस्तरमा आज पनि छलफल भएको छ । तर अझै सहमति भने जुट्न सकेको छैन ।
सिंहदरबारमा पाँचबजेपछि बसेको कार्यदलको बैठकमा हिजो तयार पारेको मस्यौदामा छलफल भए पनि टुङ्गो लाग्न सकेन । अर्थ मन्त्रालयमा हिजो करिब ७ घण्टा बसेको बैठकमा धेरै विषयमा सहमति जुटेको बताइएको थियो । तर हिजो भएको भनिएको ‘सहमति’ लाई अन्तिम रुप दिन कार्यदल आज असफल भएको छ ।
आजको बैठकपछि कार्यदल सदस्य एवं नेता गोकर्ण विष्टले भोलि सार्थक निष्कर्षमा पुग्ने गरी बैठक सकिएको बताउनुभयो । उहाँले अब एकताका लागि अन्तिम समयमा आइपुगेका भन्दै भोलि निष्कर्ष सुन्ने दिन हुने दाबी गर्नुभयो ।
त्यस्तै नेता भीम रावलले पनि छलफलको अन्तिम विन्दुमा पुगेको भन्दै छिट्टै निष्कर्ष आउने दाबी गर्नुभयो ।
कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।
आज दिउँसो २ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो शुरु भएको थियो । त्यसअघि असन्तुष्ट पक्षका सदस्य वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
कार्यदलस्तरमा सहभति भए लगत्तै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गरेर हस्ताक्षर गराउने तयारी छ । तर कार्यदल स्तरमा सहमतिको नजिक पुगेको भन्न थालिएको एकसाता भए पनि टुङ्गो लाग्न सकेको छैन ।
वरिष्ठ नेता नेपाल पक्षले संसद पुनस्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने तर अदालतबाट जस्तोसुकै फैसला आए पनि पार्टी एकैठाउँमा रहने गरी सहमतिको तयारी गरिएको छ ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच शक्ति बाँडफाँटमा भने कुरा मिलिसकेको छैन। त्यसको जिम्मा स्वयम् दुई नेतालाई नै दिने कार्यदलको तयारी छ।
प्रतिक्रिया