आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना

२६ असार २०७८ काठमाडौं । सक्रिय अवस्थामा रहेको मनसुनको प्रभावले आज पनि देशका अधिकांश स्थानमा पानी पर्ने र केही स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान बुलेटिन जारी गर्दै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ। दिउँसो भने धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद् सजिना शाक्यका अनुसार काठमाडौं उपत्यकामा पनि आज हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ। पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ ।
दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया