Main News

कोरोना संक्रमणपछि रोकिएको अन्तर्राष्ट्रिय उडान संख्या थपियो

हिमालय टिभी
२०७८ असार २६ गते ९:१४
कोरोना संक्रमणपछि रोकिएको अन्तर्राष्ट्रिय उडान संख्या थपियो

२६ असार २०७८ काठमाडौं । कोरोना संक्रमणका कारण रोकिएको अन्तरराष्ट्रिय उडान सङ्ख्यामा थप गरी अब हप्तामा ५३ वटा उडान हुने भएका छन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पठाएको हो ।

क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा नेपाल वायुसेवा निगमले बुधबार र एयर इण्डियाले सोमबार गर्नेछन् ।

नेपाल एयरलाइन्सले यूएईको दुबईमा मङ्गलबार र बिहीबार तथा निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछन् । फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक एक उडान गर्नेछ ।

निगमको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई सोमबार, बुधबार र शनिबार उडान अनुमति दिइएको छ ।

हिमालयनले साउदी अरेबियाको दमाममा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार उडानअनुमति पाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ । जजिरा एयरवेजले सोमबार, मङ्गलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ ।

सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन उडान गर्ने तालिका छ । एयर अरेबियाले आबुधाबीमा दुई दिन उडान तालिका पाएको छ । सिङ्गापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । आन्तरिक उडान पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *